काठमाडौं । झापा इनर्जी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। आज नेप्से र कम्पनीबीच प्रतिसेयर अंकित मूल्य तथा चुक्ता मूल्य १०० रुपैयाँ कायम रहेको कुल ३८ लाख १ हजार ९०० कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता भएको हो।
कम्पनीले गत भदौ २० देखि २४ गतेसम्म हिमालयन क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक तोकी सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो।
सर्वसाधारणलाई वितरित ९ लाख ५० हजार ४७५ कित्ता र संस्थापक सेयरधनीहरूको २८ लाख ५१ हजार ४२५ कित्ता गरी कुल ३८ लाख १ हजार ९०० कित्ता साधारण सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ अनुसार नेप्सेको कात्तिक २६ गतेको निर्णयबमोजिम सूचीकृत गरिएको छ।
नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको आईपीओ आइतबारदेखि दोस्रो बजारमा कारोबारयोग्य हुनेछ। नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता १००.१२ रुपैयाँदेखि ३००.३६ रुपैयाँसम्मको खुल्ने मूल्य दायरा (ओपनिङ रेञ्ज) तोकेको छ।
