काठमाडौं । नागरिक लगानी कोष (सीआईटी) ले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कोषले ३१ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.४३ प्रतिशतले कमी हो । गत वर्षको पहिलो त्रैमासमा कोषको खुद नाफा ३० करोड ९ लाख रुपैयाँ थियो ।
यो त्रैमासमा कोषको कुल आम्दानी ५३ करोड ७२ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको तुलनामा ३.९० प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्ष सोही अवधिमा कुल आम्दानी ५१ करोड ७० लाख रुपैयाँ थियो ।
कुल आम्दानीमा ब्याज आम्दानी ९ करोड ७२ लाख, सेवा शुल्क तथा कमिसन आम्दानी ४२ करोड ७४ लाख र अन्य विविध आम्दानी १ करोड २५ लाख रुपैयाँ रहेको छ । यता, कोषको कुल खर्च १.९६ प्रतिशतले बढेर ११ करोड ७९ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्ष ११ करोड ५७ लाख रुपैयाँ थियो ।
कोषले हालसम्म २ खर्ब ९५ अर्ब रुपैयाँ बराबरको कुल लगानी गरेको छ । यसमा मुद्दती निक्षेपमा १ खर्ब ६२ अर्ब, नेपाल सरकारको ऋणपत्रमा ३ अर्ब ६३ करोड, समयकालीन कर्जामा २६ अर्ब ३८ करोड, संगठित संस्थाको सेयरमा ३२ अर्ब २७ करोड र सहायक कम्पनीमा २ अर्ब ७२ करोड रुपैयाँ लगानी रहेको छ । कोषको बैंक मौज्दात २ अर्ब ८७ करोड र चालु सम्पत्ति ८ अर्ब ८८ करोड रुपैयाँ छ । जगेडा कोषको आकार २० अर्ब २४ करोड रुपैयाँ कायम भएको छ ।
समीक्षा अवधिसम्म कोषको प्रतिसेयर आम्दानी (ईपीएस) १९.४० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्ति मूल्य (नेटवर्थ) १६९.०८ रुपैयाँ र लगानी प्रतिफल ४.८१ प्रतिशत रहेको छ ।
