काठमाण्डौ । हातवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको आम्दानी र नाफामा उल्लेखनीय गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले ४४ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८७.३६ प्रतिशतले कमी हो । अघिल्लो वर्ष कम्पनीले ३ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको कुल आम्दानीमा पनि ८१.९६ प्रतिशतको ह्रास आएको छ । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ८८ करोड १४ लाख रुपैयाँ कायम भएको छ, जबकि अघिल्लो वर्ष यो ४ करोड ८८ लाख रुपैयाँ थियो ।
यद्यपि, कम्पनीको कुल खर्चमा भने वृद्धि भएको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा ६७ लाख ५ हजार रुपैयाँ खर्च भएकोमा यो वर्ष सोही अवधिमा २२ करोड ६८ लाख रुपैयाँ खर्च भएको छ । कम्पनीले यो अवधिमा ४ करोड ५६ लाख रुपैयाँ लगानी गरेको छ ।
कम्पनीको सञ्चित नाफा (रिटेन्ड अर्निङ) १३ करोड ६५ लाख रुपैयाँ रहेको छ । त्यसैगरी, फेयर भ्यालु रिजर्भमा ३९ करोड ११ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब ५८ करोड रुपैयाँ कायम छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ०.५६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ६६.६४ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ८५.८६ रुपैयाँ र मूल्य–आम्दानी अनुपात १६४८.८८ गुणा रहेको छ ।
