काठमाण्डौ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट उत्पन्न बीमा दाबीहरूका कारण निर्जीवन बीमा कम्पनीहरूको वित्तीय स्थिति कमजोर भएको छ । यी आन्दोलनले ठूलो क्षतिको जिम्मेवारी वहन गर्नुपर्दा कम्पनीहरूले भारी नोक्सानी बेहोरेका छन् ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्म निर्जीवन बीमकहरू करिब दुई अर्ब रुपैयाँ घाटामा छन् । १४ कम्पनीमध्ये प्रभु इन्स्योरेन्स र नेशनल इन्स्योरेन्सबाहेक सबैले ठूलो नोक्सानी व्यहोरेका छन् ।
निर्जीवन बीमकहरूमाथि दायित्वको बोझ बढ्दै जाँदा नाफामा फर्कन सकेका छैनन् । गत वर्ष असोजमा आएको बाढी–पहिरो र तीनकुनेको हुलदङ्गाले ठूलो दाबी परेको थियो भने यस वर्ष जेनजी आन्दोलन तथा दसैँपछि ठूलो वर्षाका कारण पनि कम्पनीहरूमा भारी बीमा दाबी परेको छ ।
पहिलो त्रैमासिकसम्म प्रभु इन्स्योरेन्स र नेशनल इन्स्योरेन्सले मात्र नाफा कमाएका छन् । यस अवधिमा प्रभुले ६ करोड ३१ लाख रुपैयाँ तथा नेशनलले ३ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
यही अवधिसम्म १२ कम्पनी घाटामा छन् । ती १२ कम्पनीले असोज मसान्तसम्म कुल २ अर्ब ५ करोड ७७ लाख रुपैयाँ नोक्सानी बेहोरेका छन् । घाटाको शीर्ष स्थानमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स छ, जसले २९ करोड ८५ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ ।
त्यस्तै, ओरियण्टल इन्स्योरेन्सले २८ करोड ४८ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २६ करोड ७३ लाख, आइजीआई प्रुडेन्सियलले २० करोड ७६ लाख रुपैयाँ घाटा बेहोरेका छन् ।
यसैगरी, शिखरले १५ करोड ८५ लाख, युनाइटेड अजोडले १५ करोड ११ लाख, हिमालयन एभरेष्टले १० करोड ९३ लाख, एनएलजी इन्स्योरेन्सले १० करोड १० लाख, नेपाल इन्स्योरेन्सले ९ करोड ६३ लाख, राष्ट्रिय बीमा कम्पनीले ९ करोड ९५ लाख तथा नेको इन्स्योरेन्सले ८ करोड ३१ लाख रुपैयाँ घाटा व्यहोरेका छन् ।
कम्पनीहरूको नाफामा ठूलो कमी आएसँगै प्रतिसेयर आम्दानी (ईपीएस) मा पनि असर परेको छ । यस अवधिसम्म प्रभु इन्स्योरेन्सबाहेक सबै कम्पनीको ईपीएस ऋणात्मक छ । प्रभुको ईपीएस १४.८५ रुपैयाँ कायम भएको छ ।
