Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

सीताराम थपलियालाई एनआरएनको सूचना चुहाएको र ब्रोकर ट्रेडिङ रुम दुरुपयोग गरेको आरोप

सीताराम थपलियालाई एनआरएनको सूचना चुहाएको र ब्रोकर ट्रेडिङ रुम दुरुपयोग गरेको आरोप

अर्थ प्लस
सीताराम थपलियालाई एनआरएनको सूचना चुहाएको र ब्रोकर ट्रेडिङ रुम दुरुपयोग गरेको आरोप

काठमाण्डौ । नेपालको सेयर बजारलाई सीमित स्वार्थी समूहहरूले वर्षौंदेखि आफ्नो अनुकूलमा सञ्चालन गर्दै आएका छन् । निश्चित कम्पनीको सेयरमा चलखेलको योजना बनाएर अग्रिम रूपमा सेयर सङ्कलन गर्ने, राम्रो लाभांश तथा सम्पत्ति वृद्धिसम्बन्धी निर्णयहरूमा केन्द्रित रही सूचीकृत कम्पनीका प्रमुखहरू नै यस्ता खेलमा संलग्न हुने, स्वार्थ समूहको मिलेमतोमा बजारमा प्रभाव पार्न सक्ने तथा सामान्य लगानीकर्तालाई भ्रमित गर्न सक्ने ब्रोकरहरूलाई समेत प्रयोग गर्ने जस्ता क्रियाकलापहरू बजारमा सामान्यजस्तै बनेका छन् । स्वार्थ समूह र ब्रोकरहरू मिलेर सूचीकृत कम्पनीका जिम्मेवार अधिकारीहरूलाई प्रयोग गरी गोप्य सूचना चुहाएर कुनै पनि कम्पनीको सेयर मूल्यमा मनलागी चलखेल गर्ने कुरा नौलो होइन । तर, सूचीकृत कम्पनीका सञ्चालक समितिका अध्यक्ष नै यस्तो खेलमा प्रत्यक्ष संलग्न भई ब्रोकरको ट्रेडिङ रुमलाई महिनौंदेखि अखडा बनाएर आफू संलग्न कम्पनीको मूल्य मनलागी बढाउने, नजिकका साथी तथा आफन्तको नाममा न्यून मूल्यमा सेयर खरिद गरी उच्च मूल्यमा सर्वसाधारणलाई बेचेर अकुत कमाउने नयाँ खेलको पर्दाफास भएको छ ।

यो प्रसङ्ग एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको हो । कम्पनीको सेयर मूल्य बढाएर शिखरमा पुर्याउने मास्टरप्लान केही महिनाअघि नै तयार पारिएको धितोपत्र बोर्डको प्रारम्भिक अनुसन्धानमा उजागर भएको छ ।

उच्च स्रोतका अनुसार, एनआरएन कारोबार सङ्केतमा खरिद–बिक्री हुँदै आएको यो कम्पनीको मूल्य बढाएर करोडौं कमाउने यो खतरनाक खेलमा मुख्य पात्रको भूमिका कम्पनीका सञ्चालक समितिका अध्यक्ष सीताराम थपलियाले निर्वाह गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

थपलिया नेपालको सेयर बजारको प्रमुख नियामक नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का पूर्व प्रमुख कार्यकारी अधिकृत हुन् । उनले सन् २०१३ देखि २०१७ सम्म नेप्सेको सीईओको जिम्मेवारी सम्हालेका थिए ।

सेयर बजारकै अर्को प्रमुख पक्ष सीडीएस एण्ड क्लियरिङ लिमिटेडको अध्यक्ष तथा सञ्चालक, धितोपत्र बोर्डको सञ्चालक, नागरिक लगानी कोषको सञ्चालक लगायत दर्जनौं महत्वपूर्ण पदहरू सम्हालिसकेका उनलाई कुनै पनि कम्पनीको सेयर मूल्य कसरी बढाउन सकिन्छ भन्ने बारे पर्याप्त ज्ञान हुनु अस्वाभाविक होइन । पछिल्लो अनुसन्धानमा उनी र केही लगानीकर्ताहरूको मिलेमतोमा एनआरएनमा चलखेल गरी मूल्य बढाउने र करोडौं कमाउने योजना बनाइएको स्रोतको दाबी छ ।

कम्पनीको सेयर मूल्य बढाउने खेल कसरी सुरक्षित रूपमा खेल्ने, नेप्से, सीडीएससी र धितोपत्र बोर्डको निगरानी वा अनुसन्धानलाई कसरी छल्ने जस्ता विषयमा पर्याप्त अनुभव भएका थपलियाले एनआरएनको मूल्य शिखरमा पुर्याउने क्रममा केही गम्भीर त्रुटि गरेका र प्रशस्त प्रमाण छाडेका अनुसन्धानमा देखिएको छ । यिनै त्रुटि र प्रमाणहरूको आधारमा धितोपत्र बोर्डले एनआरएन प्रकरणमा गहन अनुसन्धान थालेको छ ।

ब्रोकर नै अखडा !

नेप्सेमा सूचीकृत कुनै पनि कम्पनीका सञ्चालकले ब्रोकरहरूसँग मिलेमतो गर्नु वा संवेदनशील सूचना चुहाउनु गैरकानुनी हो । तर, सीताराम थपलियाले एनआरएनको अध्यक्ष भए पनि आफ्नो अवैध सेयर कारोबारको मुख्य केन्द्र नै ब्रोकर कम्पनीको ट्रेडिङ रुम बनाउने गरेका थिए ।

उनी त्यहीँ बसेर एनआरएनको मूल्य बढाउने खेल खेल्थे, थुप्रै छलफल गर्थे र विभिन्न समूहहरूलाई निर्देशन दिन्थे । अनुसन्धानमा संलग्न अधिकारीहरूले प्राप्त भिडियो, अडियो जस्ता प्रमाण उद्धृत गर्दै भनेका छन्– ‘थपलियाको धन्दा र गतिविधि हेर्दा हामी आफैं अचम्मित भएका छौं । कुनै हिन्दी फिल्मभन्दा कम छैन उनको अवैध कारोबार । नासा सेक्युरिटिजको ट्रेडिङ रुमलाई नै उनले अखडा बनाएर बजारमा खेल खेल्ने गरेको प्रमाण हामीसँग छ ।’

अनुसन्धान अधिकारीहरूले नाम लिएको नासा सेक्युरिटिजका जिम्मेवार अधिकारीहरूले भने आफूमाथिको आरोपको खण्डन गरेका छन् ।

मूल्य बढाएपछि मात्र लाभांश र हकप्रद घोषणा  

6919d747b1f83.pngSource: Nepse

थपलिया नेतृत्वको समूहले एनआरएनको सेयर मूल्य महिनौंदेखि योजनाबद्ध रूपमा क्रमशः बढाउँदै लगेको प्रारम्भिक अनुसन्धानमै पुष्टि भइसकेको छ । यसलाई अझ विस्तृत रूपमा विश्लेषण गर्ने काम भइरहेको स्रोतको भनाइ छ ।

यो समूहले लामो समयदेखि एनआरएनको मूल्य निरन्तर बढाइरहेको थियो । मूल्य वृद्धिको आधारका रूपमा पछिल्ला केही त्रैमासिक वित्तीय विवरणमा व्यापक हेरफेर गरिएको थियो । उदाहरणका लागि, आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको विवरणमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ५२.२३ रुपैयाँ देखाइएको थियो । १ अर्ब २८ करोड चुक्तापूँजी भएको कम्पनीको खुद नाफा ६७ करोडभन्दा माथि थियो । यही आधार देखाएर महिनौंदेखिको चलखेललाई रङ्गीन बनाइएको थियो । तेस्रो त्रैमाससम्म कम्पनीको नाफा ७ करोड हाराहारी पनि थिएन, ईपीएस ७.१८ रुपैयाँमा सीमित थियो । अघिल्लो वर्षको चौथो त्रैमासमा कुनै लगानी बिक्री गरेर नाफा अचानक बढाइएको थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा ५० लाखमा खुम्चिएको छ । वार्षिकीकृत ईपीएस घटेर १.५८ रुपैयाँमा सीमित भएको छ ।

अनुसन्धान अधिकारीहरूले वित्तीय प्रतिवेदनमा समेत छेडखानी गरी योजनाबद्ध खेल खेलिएको अनुमान गरेका छन् ।

बम्पर लाभांश घोषणाकै दिन सेयर मूल्य ओरालो  

6919d76453907.jpg

यसैबीच, कात्तिक २५ गते बसेको सञ्चालक समितिको बैठकले चुक्तापूँजीको ४० प्रतिशत बोनस सेयर, कर प्रयोजनका लागि आवश्यक नगद तथा बोनस जारीपछिको चुक्तापूँजीको १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो । यो निर्णयअघि नै यस्ता सूचना चुहाएर थपलिया नेतृत्वको समूहले एनआरएनको मूल्य बढाएर प्रतिकित्ता २४०० हाराहारी पुर्याइसकेको थियो । एक वर्षअघि ९०० हाराहारी रहेको मूल्यलाई २४०० सम्म पुर्याएर बम्पर लाभांश तथा १०० प्रतिशत हकप्रद घोषणा भएको भोलिपल्टै मूल्य उल्टै घट्न थाल्यो । घटनाक्रमले स्पष्ट रूपमा बोनस र हकप्रदको सूचना अग्रिम चुहाएर सस्तोमा सेयर सङ्कलन गरी घोषणाअघि वा सोही दिन सर्वसाधारणलाई बेचिएको देखिएको अनुसन्धान अधिकारीहरूको दाबी छ ।

‘यो सबै पुष्टि हुने प्रशस्त आधार भेटिएका छन् । थपलिया नै यो खेलको मास्टरमाइन्ड भएको सङ्केतहरू हामीसँग छन्,’ स्रोतले भन्यो– ‘अनुसन्धानलाई थप गम्भीरताका साथ अगाडि बढाइएको छ । यो नेपाली सेयर बजारकै गम्भीर घटना हो । सबै पक्षको मिलेमतोमा लगानीकर्तालाई ठगेर करोडौं कमाउने अवैध धन्दाको चरम रूप एनआरएन प्रकरण हो । हेर्दै जानुहोस्, हामी यसको पुष्टि गर्नेछौं ।’

नेप्सेकै शङ्कास्पद सम्बन्ध 

Niranjan-Phuyal-Sir.jpg
Niranjan Phuyal


एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टमा नयाँ प्रमुख कार्यकारी अधिकृतका रूपमा निरञ्जन फूयाल हालै नियुक्त भएका छन् । उनलाई सीताराम थपलियाले नै पूर्व सीईओभन्दा मासिक १ लाख बढी तलब दिएर भित्र्याएको पाइएको छ ।

एनआरएनमा एक वर्षअघिदेखि नै सेयर सङ्कलनसहित मूल्य बढाउने खेल खेलिएको र यो सुनियोजित खेलमा केही दिनअघिसम्म नेप्सेको दोस्रो वरियताका कर्मचारी रहेका निरञ्जन फूयालको समेत सहयोग रहेको हुन सक्ने आशङ्कामा अनुसन्धान अगाडि बढेको छ । फूयालले नेप्सेमै बसेर थपलियाको समूहलाई साथ दिएको र खेल सफल हुने निश्चित भएपछि नेप्से छाडेर एनआरएनको नेतृत्वमा पुगेको स्रोतको दाबी छ ।

नेप्सेको कामु सीईओको जिम्मेवारी सम्हालिसकेका फूयाललाई हेमन्त बस्यालले छाडेपछि रिक्त एनआरएनको सीईओ पदमा नियुक्त गरिएको थियो ।

हेमन्त बस्यालले २०८२ भदौ १३ गते एनआरएनको सीईओ पदबाट राजीनामा दिएका थिए । भदौ १५ गतेको सञ्चालक समिति बैठकले उनको राजीनामा स्वीकृत गरेको थियो । एनआरएनको सीईओ छाडेका बस्याललाई केही समयपछि नै सरकारले नेप्सेको सञ्चालक समिति अध्यक्ष बनाएको थियो ।

कात्तिक १९ गतेको एनआरएनको सञ्चालक समिति बैठकले नेप्सेको दोस्रो वरियतामा रही केही दिनअघि मात्र राजीनामा दिएका निरञ्जन फूयाललाई सीईओ नियुक्त गर्ने निर्णय गरेको थियो । उनी सीईओ बनेको एक हप्तामै कम्पनीले ४० प्रतिशत बोनस सेयर र १०० प्रतिशत हकप्रद घोषणा गरेको थियो ।

एनआरएनबाट सीईओ छाडेका बस्याललाई नेप्से अध्यक्ष बनाइनु, त्यसको केही समयपछि नेप्सेको दोस्रो तहका कर्मचारीलाई राजीनामा गराई सीईओ बनाइनु, एक हप्तामै बम्पर लाभांश र हकप्रद घोषणा गर्नु, मूल्य शिखरमा पुर्याउनु र घोषणाको भोलिपल्टै मूल्य घट्नु जस्ता घटनाक्रम संयोग मात्र नभएको आशङ्कासहित एक–एक गरी विश्लेषण गर्ने काम भइरहेको सेबोन स्रोतले जनाएको छ ।

‘यो प्रकरणमा नेप्सेमै रहँदा निरञ्जन फूयालको लामो समयदेखि संलग्नता थियो भन्ने आशङ्का गर्न सकिन्छ,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने– ‘यो सबै संयोग होइन । निकै ठूलो र्याकेट सञ्चालन भएको प्रारम्भिक सङ्केतहरूले देखाएका छन् ।’

नेप्सेजस्तो पूँजीबजारको प्रमुख नियामकको दोस्रो वरियताका व्यक्तिले राजीनामा गरेको केही दिनमै सूचीकृत कम्पनीको सीईओ बन्न नरोक्ने कानुनी त्रुटिका कारण थपलिया नेतृत्वको समूहजस्तालाई खेल्ने अवसर मिलेको स्रोतको भनाइ छ ।

‘यो प्रकरणमा संलग्न वा जोडिएका कसैलाई पनि छाड्ने छैनौं । सर्वसाधारण लगानीकर्तालाई एनआरएनको बोझ बोकाएर, चलखेल गरी अकुत कमाउने र यसमा सहयोग गर्ने सबैलाई अनुसन्धानको दायरामा ल्याउनेछौं,’ सेबोनका अनुसन्धान अधिकारीहरूले भने– ‘बजारमा हुने यस्ता गलत क्रियाकलाप, ग्रुप ट्रेडिङ, इन्साइडर ट्रेडिङ जस्ता अवैध गतिविधि नियन्त्रण नगरे सामान्य लगानीकर्ताको मनोबल बढ्दैन । सेयर बजार ठूला खेलाडीले सानालाई ठग्ने जुवाघर होइन । यो नैतिक रूपमा सञ्चालन हुनुपर्ने पवित्र प्लेटफर्म हो, यसलाई सोहीअनुसार विकास गर्नुपर्छ ।’

सीताराम थपलिया भन्छन्– ‘मेरो नाम लिएर केहीले रमाइलो गरिरहेका छन् !’

Sitaram-Thapaliya-1.jpg
Sitaram Thapaliya


एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडका सञ्चालक समिति अध्यक्ष सीताराम थपलियाले केही व्यक्तिहरूले आफ्नो नाममा निरर्थक कुरा गरेर रमाइलो गरिरहेको दाबी गर्दै त्यस्ता कुराको जवाफ दिनु नपर्ने बताए । ‘म आफैं धितोपत्र बोर्ड र नेप्सेमा बसेको व्यक्ति हुँ । इन्साइडर ट्रेडिङ जस्ता आरोप बजारमा कसैलाई सिध्याउन लगाउने सामान्य चलन हो,’ उनले भने– ‘मैले कसैलाई एनआरएन किन्न भनें न त किनाइदिएँ । कसैले सोध्दा ‘हाम्रो ईपीएस त्रैमासिक प्रतिवेदनमै स्पष्ट छ । त्यसले लाभांश दिन सक्ने क्षमता झल्काउँछ । तर कति दिने भन्ने सञ्चालक समिति बैठक नबसी भन्न सकिँदैन’ भनेर जवाफ दिने गरेको छु ।’

उनले ब्रोकरको कार्यालयलाई अखडा बनाएको आरोपको पनि खण्डन गरे । ‘कारोबारमा समस्या पर्दा म व्यक्तिगत रूपमा विभिन्न ब्रोकरका कार्यालय जाने गर्छु । म कुनै एक ठाउँमा बाँधिएको व्यक्ति होइन, ब्रोकरको कार्यालयमा जानै नपाउने पनि होइन । मेरो व्यक्तिगत कामका लागि कहिले कुन ब्रोकरकोमा पुग्छु, कहिले कुनकोमा । त्यहाँ गएकै आधारमा अखडा बनायो भन्न मिल्छ ?’ उनले प्रश्न गरे– ‘बजारमा अखडा बनाउने वा बन्ने कुरै हुँदैन । यहाँ आफ्नै विवेकले सेयर किन्ने र बेच्ने हो । यस्ता निरर्थक कुरा गरेर केही अर्थ छैन । केही साथीहरूले मलाई विवादमा ल्याएर रमाइलो गरिरहेका छन्, उनीहरूलाई रमाइलो गर्न छाडिदिनुस् ।’

सम्बन्धित समाचार