काठमाण्डौं । आम्दानीमा उल्लेख्य गिरावट आएपछि नेपाल रिपब्लिक मिडिया लिमिटेडको घाटा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बढेर १ करोड ५५ लाख रुपैयाँ पुगेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको २४ लाख ६१ हजार घाटाको तुलनामा निकै बढी हो । यस अवधिमा कम्पनीको कुल आम्दानी ४६.१६ प्रतिशतले खुम्चिएर जम्मा १ करोड ११ लाख रुपैयाँमा सीमित भएको छ भने गत वर्ष सोही अवधिमा यो २ करोड ७ लाख रुपैयाँ थियो ।
अन्य आम्दानी पनि नगण्य मात्र १ लाख ८८ हजार रुपैयाँ रहेको छ । प्रशासनिक खर्च १ करोड २८ लाख र बिक्री तथा वितरण खर्च ४९ लाख ८२ हजार रुपैयाँ कायम हुँदा कम्पनीको सञ्चित नोक्सान (रिटेन्ड अर्निङ) ५२ करोड ७ लाख रुपैयाँले ऋणात्मक भएको छ । कम्पनीको कुल चालु सम्पत्ति ५९ करोड ३९ लाख तथा चालु दायित्व २६ करोड ५४ लाख रुपैयाँ रहेको छ । यस्तो अवस्थामा प्रतिशेयर आम्दानी (ईपीएस) १.६१ रुपैयाँले ऋणात्मक, प्रतिशेयर नेटवर्थ ८७.२३ रुपैयाँ, प्रतिशेयर कुल सम्पत्तिको मूल्य १२५.०९ रुपैयाँ र तरलता अनुपात २.२४ गुणा कायम भएको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।
