काठमाण्डौ । पिपुल्स पावर लिमिटेडको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक नतिजा सार्वजनिक भएको छ। विद्युत् बिक्री आम्दानी बढे पनि प्रशासनिक खर्चमा भएको उल्लेख्य वृद्धिका कारण कम्पनीको खुद नाफा घटेको हो।
कम्पनीले यस त्रैमासमा १ करोड २६ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २६.७१ प्रतिशतले कम हो। गत वर्ष यसै अवधिमा कम्पनीले १ करोड ७२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा विद्युत् बिक्रीबाट आम्दानी ५.३३ प्रतिशतले बढेर ३ करोड १७ लाख रुपैयाँ पुगेको छ (गत वर्षः ३ करोड १ लाख)। तर प्रशासनिक तथा सामान्य खर्च ३०९.३२ प्रतिशतले अत्यधिक बढेर ३९ लाख ९५ हजार रुपैयाँ कटेको छ। सुखद पक्षका रूपमा वित्तीय खर्च भने ७६ लाख २५ हजारबाट घटेर २८ लाख ९७ हजारमा झरेको छ।
कम्पनीको जगेडा कोष अझै ऋणात्मक (−६५ लाख ६३ हजार) अवस्थामा छ। कुल चालु सम्पत्ति ११ करोड ९९ लाख र चालु दायित्व २१ लाख २९ हजार रुपैयाँ रहेको छ।
मुख्य वित्तीय अनुपातहरू (पहिलो त्रैमाससम्म):
- प्रतिसेयर आम्दानी (EPS): ५.३२ रुपैयाँ
- प्रतिसेयर नेटवर्थ: १०६.२० रुपैयाँ
- प्रतिसेयर कुल सम्पत्ति मूल्य: १०६.४३ रुपैयाँ
- तरलता अनुपात: ५६.३२ प्रतिशत
