काठमाण्डौ । आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड गम्भीर संकटमा फसेको देखिएको छ। कम्पनीले यो त्रैमासमा रु. १५१.१९ करोडको ठूलो नेट घाटा बेहोरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको घाटाभन्दा झन्डै ८ गुणा बढी हो।
वित्तीय विवरणले कम्पनीको कमजोर अवस्थालाई स्पष्ट रूपमा उजागर गरेको छ। आम्दानीदेखि लगानीको प्रतिफल, दाबी व्यवस्थापन र सञ्चालन खर्चसम्म सबै मोर्चामा उल्लेख्य गिरावट देखिएको छ।
आम्दानीभन्दा खर्च दोब्बरजति बढी, कम्पनी कति दिन टिक्ला?
- कुल आम्दानी : रु. ३६३ करोड
- कुल खर्च : रु. ५७९ करोड
(अर्थात् कमाएकोभन्दा रु. २१५ करोड बढी खर्च)
- लगानीबाट हुने आम्दानी गत वर्ष रु. ७६ करोडबाट घटेर रु. ४३ करोडमा झरेको
- पुनर्बीमा सम्पत्ति (Reinsurance Asset) त्रैमासको सुरुमै रु. १०.१६ अर्बबाट रु. ४ अर्बभन्दा बढी घटेर रु. ६.५८ अर्बमा ओर्लिएको
- बीमांकको दायित्व (Insurance Payable) रु. ६८ करोडबाट घटेर रु. १८ करोडमा सीमित भएको, जसले दाबी भुक्तानीमा गम्भीर संकट देखाउँछ
दाबी भुक्तानीमा ‘विस्फोट’
पहिलो त्रैमासमै नेट दाबी भुक्तानी (Net Claims Incurred) रु. ४ अर्ब ७ करोड ३९ लाख पुगेको छ, जुन गत वर्षको सोही अवधिको रु. १.९५ अर्बको तुलनामा दोब्बरभन्दा बढी हो। यसले कम्पनीको अण्डरराइटिङ नीति, जोखिम मूल्यांकन र पुनर्बीमा संरचनामा गम्भीर कमजोरी रहेको पुष्टि गर्छ।
शेयरधनीको अवस्था दयनीय
- EPS (प्रतिशेयर आम्दानी) : रु. -२६.१८ (बीमा क्षेत्रकै सबैभन्दा कमजोर मध्ये एक)
- नेटवर्थ प्रति शेयर : रु. १६९.४९ (तीव्र गिरावट)
- P/E Ratio : -१६.७५ (अत्यन्त जोखिमपूर्ण)
- बजार मूल्य : रु. ४३८.५ (अधिकतम रु. ६२५, न्यूनतम रु. ४२२.१)
नगद सञ्चिति पनि पग्लियो
- गत वर्ष : रु. ३२५.८७ करोड
- यो वर्ष : रु. २००.१४ करोड
(रु. १२५ करोडभन्दा बढी नगद एक त्रैमासमै घट्यो)
सञ्चित नाफा पनि घाटामा
गत वर्ष रु. १०.६४ करोड रहेको रिटेन्ड अर्निङ्स यो वर्ष रु. -५०.५५ करोडमा पुगेको छ।
बाँकी दाबीमा ‘सुनामी’
- बक्यौता दाबी (Outstanding Claims सहित IBNR/IBNER) : रु. २३.०३ अर्ब
(गत वर्ष रु. १५.४९ अर्ब थियो, रु. ७.५४ अर्बले बढ्यो)
- दर्ता भएका दाबी संख्या : १०,७१४ वटा
पोलिसी धमाधम बिक्री, तर जोखिम व्यवस्थापन शून्य
यो त्रैमासमा १,०२,४९४ नयाँ र १३,१९७ नवीकरण पोलिसी जारी भए पनि दाबी व्यवस्थापन पूरै असफल देखिएको छ। कमिसनको लोभमा पोलिसी बेच्ने तर दाबी आउँदा कम्पनी संकटमा पर्ने प्रवृत्ति स्पष्ट छ।
जेन–जी आन्दोलनलाई बहाना बनाइयो ?
कम्पनी व्यवस्थापनले घाटाको मुख्य कारण भदौ २०८२ मा भएको जेन–जी आन्दोलनजन्य क्षतिलाई देखाएको छ। तर विज्ञहरूका अनुसार आन्दोलनभन्दा पहिलेदेखि नै कम्पनीको खराब अण्डरराइटिङ, कमजोर पुनर्बीमा संरचना र दाबी व्यवस्थापनमा लापरबाही प्रमुख कारण हो। आन्दोलनलाई दोष दिएर जिम्मेवारीबाट पन्छिने प्रयास मात्र भएको टिप्पणी छ।
निष्कर्ष : कम्पनी ‘हाई अलर्ट’ मा
पहिलो त्रैमासमै यति ठूलो संकट देखिएकाले बीमा क्षेत्रका विज्ञहरूले युनाइटेड अजोड इन्स्योरेन्सलाई तत्काल निम्न कदम चाल्न चेतावनी दिएका छन्:
- व्यवस्थापनमा आमूल सुधार
- पुनर्बीमा संरचनाको पुनर्संरचना
- अण्डरराइटिङ तथा जोखिम नीतिमा कडाइ
यदि यी सुधार तत्काल भएनन् भने दोस्रो त्रैमाससम्म कम्पनीको नेटवर्थ थप खस्कने, दाबी भुक्तानी रोकिने र समग्रमा बीमितहरूको सुरक्षा नै जोखिममा पर्ने निश्चित छ। कम्पनी अहिले नै ‘उच्च जोखिम क्षेत्र’ मा प्रवेश गरिसकेको विज्ञहरूको ठहर छ।
