काठमाण्डौ । सिटी होटल लिमिटेडको अवितरित हकप्रद सेयरको लिलामी बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले कात्तिक २३ देखि ३० गतेसम्म लिलामीमा राखेको कुल २१ लाख ५० हजार ४१८ कित्ता सेयरको गोप्य शिलबन्दी बोलपत्र मंसिर ५ गते खोलिएको थियो र बाँडफाँड मंसिर ११ गते गरिएको हो । यी सेयरमध्ये १९ लाख ८९ हजार ९९९ कित्ता संस्थापक समूहको, ६ हजार कित्ता कर्मचारीका लागि लक–इनमा रहेको तथा १ लाख ५४ हजार ४१९ कित्ता सर्वसाधारण समूहको लक–इनमा रहेको सेयर रहेको छ ।
बाँडफाँडअनुसार संस्थापक समूहको कटअफ मूल्य प्रतिकित्ता २५१ रुपैयाँ, कर्मचारीतर्फ लक–इन सेयरको कटअफ मूल्य ३०६.१० रुपैयाँ तथा सर्वसाधारण समूहको लक–इन सेयरको कटअफ मूल्य ४३६ रुपैयाँ कायम भएको छ । सर्वसाधारण समूहको लक–इनबाहेकका आवेदकहरूले ४३६ रुपैयाँ वा सोभन्दा माथि बोलपत्र पेश गरेका थिए भने उनीहरूबीच सापेक्षिक भारका आधारमा समानुपातिक रूपमा सेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ । बाँडफाँडमा नपरेका आवेदकहरूको रकम मंसिर १२ गतेदेखि फिर्ता भुक्तानी सुरु हुनेछ ।
