काठमाण्डौ – सिद्धार्थ केवलकार लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) सम्बन्धी विशेष प्रस्ताव पारित गर्न आगामी पुस २७ गते वार्षिक साधारण सभा बोलाएको छ। कम्पनी सञ्चालक समितिको कात्तिक ७ गते बसेको बैठकले उक्त सभा काठमाण्डौको तीनकुनेस्थित सिद्धार्थ कटेजमा दिउँसो ठीक २ः४५ बजे सुरु गर्ने निर्णय गरेको हो।
सभामा पेस हुने प्रमुख प्रस्तावहरू निम्नानुसार छन्:
- सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्कासन गर्ने,
- आईपीओबाट संकलित पुँजीको उपयोग विधि स्वीकृत गर्ने,
- नियामक निकायबाट कुनै संशोधन वा निर्देशन प्राप्त भएमा सोहीअनुसार कार्यान्वयन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने।
यसैगरी सभाले कम्पनी तथा यसका सहायक कम्पनीहरू – हिलसाइड भिलेज रिसोर्ट प्रालि, ऋषि कालदेवल पर्यटन कम्पनी प्रालि र नुवाकोटगढी पर्यटन कम्पनी प्रालिको एकीकृत वित्तीय विवरणसहित वार्षिक प्रतिवेदन पनि पारित गर्नेछ।
