काठमाण्डौ – कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सेयर संरचना परिवर्तन गर्दैछ। परिवर्तनपछि संस्थापक समूहको सेयर स्वामित्व ५४.५२ प्रतिशत र सर्वसाधारण समूहको स्वामित्व ४५.४८ प्रतिशत कायम हुनेछ।
यसअघि संस्थापक समूहको हिस्सा ६४.५२ प्रतिशत तथा सर्वसाधारणको हिस्सा ३५.४८ प्रतिशत रहेको थियो। कम्पनी गत असोज १० गते बसेको सञ्चालक समितिको बैठकले संस्थापक सेयरको १० प्रतिशत बिन्दु सर्वसाधारण समूहतर्फ स्थानान्तरण गर्ने निर्णय गरेको थियो र उक्त निर्णय नेपाल राष्ट्र बैंकबाट पनि स्वीकृत भइसकेको छ।
साविक कालिका लघुवित्त र जनसेवी लघुवित्त आपसमा गाभिएर बनेको यो संस्थाले संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिवर्तन गर्न नचाहने संस्थापक सेयरधनीहरूलाई यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र पोखरा (कास्की) मा रहेको केन्द्रीय कार्यालयमा लिखित निवेदन दिन वा कम्पनीको आधिकारिक इमेलमा निवेदन पठाउन अनुरोध गरेको छ।
निर्धारित अवधिभित्र परिवर्तन नगर्ने लिखित जानकारी नदिने संस्थापक सेयरधनीहरूको सेयर स्वतः सर्वसाधारण समूहमा परिवर्तन हुने गरी प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।
