काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडले आव २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ। मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले वितरणयोग्य नाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
साधारण सभामा निम्न प्रस्तावहरू प्रस्तुत गरिनेछन्:
-
प्रस्तावित बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पूँजीमा १:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने।
-
कम्पनीको प्रबन्धपत्रको दफा ६ अन्तर्गत पूँजी संरचना संशोधन गर्ने।
-
प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने तथा नियामक निकायको निर्देशन अनुसार थप परिमार्जन गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने।
-
सञ्चालक समितिका सदस्यहरूलाई सेवा सुविधा निर्धारण गर्ने।
-
प्रभु बैंकबाट नयाँ परियोजना निर्माणका लागि लिएको कर्जा अनुमोदन गर्ने।
सभामा अध्यक्षले प्रस्तुत गर्ने आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। साथै, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका अनुसूचिहरू अनुमोदन गरिनेछन्। आव २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पारित गरिनेछ।
कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि पुस ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार, पुस १० गतेसम्म नेप्सेमा कारोबार भई नामावलीमा रहेका सेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन्।
