काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले गत आवका लागि लाभांश घोषणा गरेको छ। पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले वितरणयोग्य नाफाबाट चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
बैठकले साधारण सभा र बुक क्लोज मिति समेत तय गरेको छ। कम्पनीको २२ औं वार्षिक साधारण सभा पुस २९ गते बिहान ११ बजे काठमाण्डौको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आयोजना हुने भएको छ।
सभामा बोनस सेयर वितरणपछि कायम हुने चुक्तापूँजीको आधारमा १ सेयर बराबर ०.३० दरले हकप्रद सेयर जारी गर्ने प्रस्ताव प्रस्तुत हुनेछ। हकप्रद निष्काशनबाट संकलित रकम दिब्यज्योति हाइड्रोपावर लिमिटेडद्वारा निर्माणाधीन ५० मेगावाट क्षमताको मस्याङ्दी बेसी जलविद्युत आयोजना निर्माणमा स्वपूँजी लगानी गरिनेछ। यससँगै पूँजी संरचना वृद्धि हुने भएकाले प्रबन्धपत्र संशोधन गर्ने, अप होल्डिङ्स कम्पनी लिमिटेडमा भएको स्वपूँजी लगानी अनुमोदन गर्ने तथा थप लगानी गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरिनेछ।
त्यसैगरी, कम्पनीका गाडी, स्क्राप तथा अन्य सम्पत्ति बिक्री गर्नुपरेमा सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभामा प्रस्तुत हुनेछ।
सभामा अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचिहरु अनुमोदन गर्ने निर्णय हुनेछ। साथै, चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखा परीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरिनेछ।
लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार, पुस १७ गतेसम्म नेप्सेमा कारोबार भई नामावलीमा रहेका सेयरधनीहरू मात्र सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
