काठमाण्डौ । सारथी केवल इन्डष्ट्रीज लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले मङ्सिर ५ गते बोर्डमा आवेदन दर्ता गरेको हो।
कम्पनीले ११ करोड ४५ लाख रुपैयाँ बराबरको ११ लाख ४५ हजार कित्ता सेयर निष्काशन गर्न अनुमति मागेको छ। यस आईपीओको बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल रहनेछ।
भुषाल ग्रुप अन्तर्गतको यो कम्पनी पहिले भुषाल केवल एण्ड वायर इन्डष्ट्रीज प्रा.लि. नाममा परिचित थियो। गत जुलाईमा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भई नाम परिवर्तन गरिएको हो। भैरहवामा रहेको फ्याक्ट्रीमार्फत सारथी केवलले विगत १८ वर्षदेखि नेपालमै विभिन्न प्रकारका केवल तथा तार उत्पादन गर्दै आएको छ। कम्पनीले Multi-Strand Cable, Power Cable, Concentric Cable र ACSR Conductor उत्पादन गर्दै आएको छ।
कम्पनीका अध्यक्ष अंकित भुषालका अनुसार आईपीओबाट संकलित रकम नेपालमै पहिलोपटक ‘अण्डरग्राउण्ड केवल’ उत्पादन सुरु गर्नमा लगानी गरिनेछ। यसले विद्युत सामग्री उत्पादनमा नेपाललाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
साथै, अत्याधुनिक प्रविधि प्रयोग गरेर आल्मुनियम फर्नेन्स प्लान्ट जडान गर्ने लक्ष्य कम्पनीले राखेको छ। हाल कम्पनीको वार्षिक उत्पादन क्षमता २७०९ मेट्रिक टन रहेको छ भने ५ वटा प्रदेशमा २१५ वटा डिलरमार्फत वितरण नेटवर्क विस्तार गरिएको छ।
आईपीओ निष्काशनपछि सारथी केवल नेपालमा केवल उत्पादन गर्ने पहिलो सूचीकृत कम्पनी बन्नेछ।
