काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरणसम्बन्धी विशेष प्रस्ताव पारित गर्ने उद्देश्यसहित साधारण सभा आह्वान गरेको छ। पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस २९ गते मोरङको कटहरीस्थित केन्द्रीय कार्यालयमा बिहान १०:३० बजे सभा आयोजना गर्ने निर्णय गरेको हो।
सभामा गत आर्थिक वर्षका लागि सेयरधनीहरूलाई १४ प्रतिशत बोनस सेयर र ०.७३८५ प्रतिशत नगद लाभांशसहित कुल १४.७३८५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ। बोनस सेयर जारी भएपछि चुक्तापूँजी वृद्धि हुने भएकाले सोही अनुसार चुक्तापूँजी बढाउने तथा संस्थाको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।
त्यस्तै, उपयुक्त लघुवित्त संस्थाहरूसँग गाभ्ने वा प्राप्ति गर्ने कार्यका लागि सम्पूर्ण अधिकार सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पनि पारित गरिनेछ।
सभामा अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचिहरू अनुमोदन गर्नेछ। साथै, चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखा परीक्षक नियुक्त गर्ने, उनको पारिश्रमिक निर्धारण गर्ने तथा दुई जना संस्थापक सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि सभामा पारित गरिनेछ।
लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि संस्थाले पुस २१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले पुस २० गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन्।
