काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले लिलामीमार्फत बिक्रीमा राखिएका अवितरित हकप्रद सेयरको बाँडफाँड सम्पन्न गरेको छ। कम्पनीले मंसिर ११ गतेदेखि २५ गतेसम्म लिलामीमा राखेका ६ लाख २१ हजार ६०६ कित्ता सेयर पुस ६ गते बाँडफाँड भएको हो।
कुल सेयरमध्ये संस्थापक समूहतर्फ ६ लाख ३ हजार १६२ कित्ता र सर्वसाधारण समूहतर्फ १८ हजार ४४४ कित्ता रहेका थिए। यसमध्ये संस्थापक समूहका २ लाख ९६ हजार ५६५ कित्ता तथा सर्वसाधारण समूहका सम्पूर्ण १८ हजार ४४४ कित्ता सेयर बाँडफाँड भएको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ।
संस्थापक समूहको कटअफ मूल्य १०० रुपैयाँ र सर्वसाधारण समूहको कटअफ मूल्य ८४५ रुपैयाँ निर्धारण गरिएको छ। बाँडफाँडमा नपरेका आवेदकहरूको रकम फिर्ता भुक्तानी पुस ७ गतेदेखि सुरु भएको क्यापिटलले जानकारी दिएको छ।
