Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

लाभांश पारित गर्न स्वरोजगार लघुवित्तले डाक्यो साधारण सभा, बुक क्लोज कहिले

लाभांश पारित गर्न स्वरोजगार लघुवित्तले डाक्यो साधारण सभा, बुक क्लोज कहिले

अर्थ प्लस
लाभांश पारित गर्न स्वरोजगार लघुवित्तले डाक्यो साधारण सभा, बुक क्लोज कहिले

काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले १७औं वार्षिक साधारण सभा आह्वान गरेको छ। संस्थाको पुस ९ गते बसेको सञ्चालक समितिको बैठकले माघ ३ गते शनिबार बिहान ११:३० बजे काठमाण्डौ कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सभा आयोजना गर्ने निर्णय गरेको हो।

सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १५ प्रतिशत लाभांश वितरणको विशेष प्रस्ताव पारित गरिनेछ। साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग गाभ्ने वा प्राप्ति प्रयोजनका लागि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि प्रस्तुत गरिनेछ।

त्यसैगरी, अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तको वासलात, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण तथा अनुसूचीहरू छलफल गरी पारित गरिनेछ। आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पारित गरिनेछ। साथै, सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गरिनेछ।

वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि संस्थाले पुस १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार, पुस १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्र प्रस्तावित लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन्।

 

सम्बन्धित समाचार