काठमाण्डौ। नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज १० अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ। ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ च’ नामक यो ऋणपत्र एक वर्षे अवधि भएको छ, जसको साँवा भुक्तानी २०८३ पुस २४ गते हुनेछ। ब्याज भुक्तानी भने अर्धवार्षिक रुपमा हुनेछ।
बोलकबोल प्रक्रिया आज दिउँसो २ बजे अनलाइन माध्यमबाट हुनेछ। यसमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ, जसमा बहुब्याजदरमा पनि प्रस्ताव पेश गर्न सकिने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकका अनुसार बाँडफाँड गर्दा बोलकबोलमा प्रस्तावित ब्याजदरलाई सानोदेखि ठूलो क्रममा राखी आह्वान रकमसम्म वा समितिले निर्धारण गरेको सीमा अनुसार एकल ब्याजदर कायम गरिनेछ। सो दर वा सो भन्दा कम प्रस्ताव गर्ने संस्थाहरूलाई ऋणपत्र बिक्री गरिने व्यवस्था गरिएको छ।
