काठमाडौँ/ नबिल बैंक लिमिटेडले ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ । ग्राहकको डिजिटल बैंकिङ अनुभवलाई सहज, सुरक्षित र आधुनिक बनाउने उद्देश्यले बैंकले असोज २९ गते बिहीबारदेखि यो सेवा सुरु गरेको हो ।
नयाँ भर्चुअल क्रेडिट कार्ड एनबैंक एपमार्फत प्राप्त तथा प्रयोग गर्न सकिने बैंकले जनाएको छ । ग्राहकहरूले एपको होमपेजमा रहेको ‘अप्लाइ नाउ’ विकल्पमार्फत कार्डका लागि आवेदन दिन सक्नेछन् ।
बैंकका अनुसार आफ्नै तथ्याङ्कमा आधारित विश्लेषणात्मक प्रणालीमार्फत योग्य ग्राहकलाई पूर्वस्वीकृति दिइएको छ । योग्य ग्राहकले एनबैंक एपको होमपेजमा स्वतः ‘अप्लाइ नाउ’ विकल्प देख्न सक्नेछन् । यसबाट परम्परागत क्रेडिट कार्डसँग सम्बन्धित कागजी प्रक्रिया तथा अन्य औपचारिकता पूरा नगरी डिजिटल माध्यमबाटै कार्ड प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
भर्चुअल क्रेडिट कार्ड फोनपे मर्चेन्ट क्यूआरमार्फत भुक्तानी गर्न प्रयोग गर्न सकिनेछ । यससँगै ग्राहकले फोनपे मर्चेन्ट क्यूआरमार्फत भुक्तानी स्वीकार गर्ने विभिन्न व्यापारिक प्रतिष्ठानमा कार्ड प्रयोग गरी कारोबार गर्न सक्नेछन् ।
यस सेवा सञ्चालनका लागि नबिल बैंक र फोनपे पेमेन्ट सर्भिस लिमिटेडबीच बुधबार समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
समझदारीपत्र हस्ताक्षर कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले डिजिटल रूपान्तरण तथा ग्राहककेन्द्रित बैंकिङ समाधानप्रतिको प्रतिबद्धता दोहोर्याए । उनले भर्चुअल क्रेडिट कार्डको सुरुवातले ग्राहकको बदलिँदो आवश्यकता र अपेक्षाअनुसार उन्नत वित्तीय सेवा उपलब्ध गराउने बैंकको प्रयासलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे ।
“ग्राहकको सहजता नै हाम्रो प्राथमिकता हो। डिजिटल युगको आवश्यकताअनुरूप ग्राहकलाई सकेसम्म बैंक शाखामै पुग्न नपरी बैंकिङ सेवा उपलब्ध गराउने दिशामा हामी निरन्तर काम गरिरहेका छौँ। नबिल भर्चुअल क्रेडिट कार्ड सोही प्रयासको एक महत्त्वपूर्ण हिस्सा हो,” ज्ञवालीले भने ।
नबिल बैंकले देशभर २६२ शाखा र ३१६ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकका अनुसार २८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा दिँदै आएको छ ।
बैंकले पछिल्लो समय दिगो बैंकिङको अवधारणालाई आत्मसात् गर्दै एनबैंकमार्फत डिजिटल बैंकिङ सेवा सञ्चालन गरिरहेको छ । आगामी दिनमा पनि ग्राहकको वित्तीय पहुँच, सुविधा र बैंकिङ अनुभवलाई प्रभावकारी बनाउन नवीनतम डिजिटल सेवाहरू विस्तार गर्दै लैजाने बैंकले जनाएको छ ।
