काठमाडौं । नेपाल अटोमोबिल आयातकर्ता तथा उत्पादक संघ (नाइमा) ले इन्जिनियरिङ अध्ययन संस्थान थापाथली क्याम्पससँगको सहकार्यमा मासिक मोबिलिटी संवादको नवौँ श्रृङ्खला सफलतापूर्वक सम्पन्न गरेको छ ।
क्याम्पस प्रमुख डा. खेम ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको मुख्य विषय Completely Knocked Down (CKD) Vehicle Assembly: Opportunities, Challenges, and Way Forward रहेको थियो ।
अध्यक्षीय मन्तव्यमा क्याम्पस प्रमुख डा. खेम ज्ञवालीले थापाथली क्याम्पसले लामो समयपछि यति महत्वपूर्ण उद्योग–शिक्षा सहकार्यमा आधारित कार्यक्रम आयोजना गर्न पाएकोमा गर्व व्यक्त गर्नुभयो । उहाँले यस्ता संवादहरू व्यवहारिक सिकाइ, अनुसन्धान तथा उद्योगसँग सहकार्य विस्तारका लागि वास्तविक आवश्यकता भएको उल्लेख गर्दै, कार्यक्रमको महत्वपूर्ण पहलका लागि NAIMA र Automobile and Mechanical Engineering Students Innovative Nexus (AMESIN) लाई धन्यवाद दिनुभयो ।
प्राविधिक प्रस्तुतिको सहजीकरण थापाथली क्याम्पसका सहायक प्राध्यापक इ. लोचन केन्द्र देवकोटाले गर्नुभएको थियो । प्यानल छलफलमा यातायात व्यवस्था विभागका प्राविधिक निर्देशक श्रीकान्त यादव, उद्योगपति तथा NAIMA का बोर्ड सदस्य शेखर गोल्छा, तथा थापाथली क्याम्पसका डेपुटी इन्स्ट्रक्टर इ. लक्ष्मण पालिखेल सहभागी रहनुभएको थियो ।
कार्यक्रमको सहजीकरण NAIMA का कार्यकारी निर्देशक राजकुमार दुलालले गर्नुभएको थियो । उहाँले NAIMA Mobility Sambaad लाई आगामी दिनहरूमा अझ फराकिलो सहकार्य र युवा सहभागिता अभिवृद्धि सहित निरन्तरता दिइने जानकारी गराउँदै, यसको दशौं श्रृङ्खला IOE पुल्चोक क्याम्पसमा आयोजना गर्ने योजना रहेको बताउनुभयो । समापन मन्तव्य काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारी तथा NAIMA की बोर्ड सदस्य यमुना श्रेष्ठले दिनुभएको थियो ।
NAIMA ले यस्ता Monthly Mobility Sambaad हरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै, मोबिलिटी तथा अटोमोबाइल क्षेत्रसम्बन्धी समसामयिक विषयमा जानकारी प्रदान गर्ने, सरोकारवालाको क्षमता अभिवृद्धि गर्ने तथा नीतिगत तथा संरचनागत चुनौतीहरूमा सहकार्यात्मक समाधान खोज्ने उद्देश्य रहेको जनाएको छ ।
करिब २०० जना सहभागी रहेको कार्यक्रममा प्राविधिक प्रस्तुति तथा प्यानल छलफल आयोजना गरिएको थियो ।
