काठमाडौँ / नेको इन्स्योरेन्स लिमिटेडले उच्च शिक्षाका लागि विदेश जाने नेपाली विद्यार्थीको सुविधालाई लक्षित गर्दै ‘स्टुडेण्ट इन्टरनेशनल हेल्थ प्लस’ बिमा योजनामा विद्यार्थीहरूको आकर्षण बढेको छ । यो बिमा योजना विदेशमा उच्च शिक्षा अध्ययनका लागि जाने नेपाली विद्यार्थीका लागि मात्र डिजाइन गरिएको हो ।
नेपालमा हालसम्म कुनै पनि बिमा कम्पनीले यस्ता सुविधासहितको प्रडक्ट ल्याएको छैन। कम्पनीको यो योजनामा अभिभावकको जोखिमसमेत समेटिएको छ।
सामान्य स्वास्थ्य वा दुर्घटना बिमा योजनामा अस्पताल भर्ना तथा उपचार खर्च मात्र कभर हुने गरे पनि नेको इन्स्योरेन्सको यो योजनाले त्यसभन्दा फराकिलो दायरा समेटेको छ।
उक्त योजनाअन्तर्गत शिक्षण शुल्क, दैनिक खानाखाजा र बहाल खर्च, दुर्घटना बिमा तथा अस्पतालमा उपचार वापतको खर्चसमेत बिमा कम्पनीले व्यहोर्ने व्यवस्था गरिएको छ।
अभिभावकको जोखिममा समेत संरक्षण
यो बिमा योजनाको प्रमुख विशेषता भनेकै अभिभावकको जोखिमलाई समेत समेट्नु हो। अभिभावक दुर्घटनामा परी अपाङ्ग भएमा, निधन भएमा वा गम्भीर रोगका कारण विदेशमा अध्ययनरत विद्यार्थीलाई थप खर्च पठाउन असमर्थ भएको अवस्थामा नेको इन्स्योरेन्सले ५० हजार अमेरिकी डलर (७१ लाख ५९ हजार रुपैयाँ)सम्मको शिक्षण शुल्क स्वयं भुक्तानी गरिदिने व्यवस्था गरेको छ। यो रकम नेपालको घरेलु हवाई उडानमा वायु सेवा कम्पनीहरूले दिने बिमा दाबीवापतको रकमभन्दा धेरै बढी रहेको उल्लेख गरिएको छ।
बैंक ऋण लिएका अभिभावकलाई राहत
बैंकबाट ऋण लिएर सन्तानको उच्च शिक्षाको चाहना पूरा गरिरहेका अभिभावकका लागि पनि यो बिमा योजना राहतको रूपमा आएको छ।
विद्यार्थीको शिक्षण शुल्क भुक्तानीका लागि बैंकबाट ऋण लिएका अभिभावकको निधन भएमा वा पूर्ण अपाङ्गता भएमा बैंक कर्जाको किस्ता चुक्ता गर्न १ लाख ५० हजार रुपैयाँसम्म क्षतिपूर्ति दिइने नेको इन्स्योरेन्सले जनाएको छ।
विदेशमा बसोबास र जीवनयापन खर्च पनि कभर
अभिभावकलाई केही अप्रत्याशित घटना परेमा विद्यार्थीको पढाइ निरन्तरता दिन अत्यावश्यक पर्ने बसोबास, खानपान तथा बहाल खर्चका लागि २,५०० अमेरिकी डलर (३ लाख ५८ हजार रुपैयाँ)सम्म बिमा कम्पनीले उपलब्ध गराउनेछ।
यो बिमालेख अन्तर्गत विद्यार्थी आफैँले आफ्नो शिक्षण शुल्क व्यहोर्ने गरेको अवस्थामा अभिभावकको सट्टा विद्यार्थी स्वयंको जोखिमलाई समेत रक्षावरण गर्न सकिने विकल्प पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ।
बिमा योजनाका मुख्य विशेषताहरू
शिक्षण शुल्क खर्च : ५०,००० अमेरिकी डलरसम्म
जीविकोपार्जन खर्च : २,५०० अमेरिकी डलरसम्म
अस्पताल भर्ना तथा उपचार खर्च : २५,००० अमेरिकी डलरसम्म
व्यक्तिगत दुर्घटना बिमा (विद्यार्थी) : २५,००० अमेरिकी डलरसम्म
शव झिकाउन खर्च : २,००० अमेरिकी डलर
अभिभावकको व्यक्तिगत दुर्घटना बिमा : ५०,००० अमेरिकी डलरसम्म
कर्जाको किस्ता भुक्तानी : १,५०,००० रुपैयाँसम्म
यसैगरी, बीमित विद्यार्थी बिरामी परेमा अस्पताल भर्ना तथा उपचारका लागि थप २५ हजार अमेरिकी डलर (३५ लाख ८० हजार रुपैयाँ)सम्म उपचार खर्च नेको इन्स्योरेन्सले व्यहोर्नेछ। दुर्घटनाका कारण विद्यार्थी अपाङ्ग भएमा वा मृत्यु भएमा पनि २५ हजार अमेरिकी डलर (३५ लाख ८० हजार रुपैयाँ) क्षतिपूर्ति दिइने कम्पनीले जानकारी दिएको छ।
विदेशमा अध्ययनका क्रममा असामयिक निधन भएको अवस्थामा नेपालसम्म शव ल्याउन लाग्ने खर्च व्यहोर्न २ हजार अमेरिकी डलर (२ लाख ८६ हजार रुपैयाँ)सम्म किरिया खर्च उपलब्ध गराइने व्यवस्था समेत गरिएको छ।
सातवटा समस्याको एउटै समाधान
नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काका अनुसार, विदेशमा अध्ययनरत नेपाली विद्यार्थीले भोग्नु परेका प्रमुख समस्यालाई एउटै बिमालेखमार्फत समाधान गर्ने उद्देश्यले सातवटा विशेषता समेटेर यो नविन बिमा योजना ल्याइएको हो।
कम्पनीका अनुसार, अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीका लागि यो योजनामा थप जोखिम सुरक्षण पनि समावेश गरिएको छ। अष्ट्रेलियन बिमकबाट गरिएको बिमाको क्षतिपूर्ति रकमभन्दा बढी रकम भुक्तानी गर्नुपर्ने अवस्थामा सो अतिरिक्त रकम नेको इन्स्योरेन्सले पुनर्बिमा कम्पनीमार्फत व्यहोर्नेछ।
वार्षिक प्रिमियम मात्र १६० अमेरिकी डलर
यस बिमा योजनाको वार्षिक बिमाशुल्क १६० अमेरिकी डलर (२२ हजार ९११ रुपैयाँ) मात्र तोकिएको छ।
यसैबीच, नेको इन्स्योरेन्सले विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीका लागि विशेष सुविधा समावेश गरिएको ‘एक्सक्लुसिभ’ बिमा प्रडक्ट ल्याउने तयारी समेत गरिरहेको छ।
‘स्टुडेन्ट इन्टरनेशनल हेल्थ प्लस बेनिफिट’ नामको यो नयाँ प्रडक्ट यथाशीघ्र सार्वजनिक गरिने कम्पनीका नायब कार्यकारी अधिकृत पवन थापाले जानकारी दिए।
उनका अनुसार, अस्ट्रेलिया लगायत अन्य देशमा पढ्न जाने नेपाली विद्यार्थीलाई लक्षित गरी डिजाइन गरिएको यो प्रडक्टले विद्यार्थी विदेशमा रहँदा नेपालमा रहेका बुबा, आमा वा मुख्य अभिभावकको देहावसान वा अपाङ्गताको अवस्थामा पनि पढाइ अवरुद्ध हुन नदिने गरी व्यापक सुरक्षा प्रदान गर्नेछ।
विद्यार्थी विदेशमा हुँदा अभिभावकको मृत्यु वा अपाङ्गता भए पनि पढाइ अधुरो नरोकिन भन्ने उद्देश्यले यो प्रडक्ट डिजाइन गरिएको कम्पनीले जनाएको छ ।
