काठमाडौँ / मुक्तिनाथ विकास बैंक लिमिटेड र नागार्जुन नगरपालिका बीच कृषि, पर्यटन, साना तथा मझौला उद्यम तथा महिला उद्यमशीलता प्रवर्द्धन गर्दै स्थानीय स्तरमा रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यले सहुलियतपूर्ण कर्जा प्रवाहसम्बन्धी सम्झौता भएको छ।
सम्झौताअनुसार नगरपालिकाको सिफारिसमा योग्य उद्यमीहरूले आफ्नो व्यवसायको प्रकृतिअनुसार बैंकबाट धितोबिनै अधिकतम २ लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्नेछन्।
साथै, नागार्जुन नगरपालिकाको ‘सहुलियतपूर्ण ब्याज अनुदान सम्बन्धी कार्यविधि, २०८०’ अनुसार योग्य ऋणीहरूले कर्जामा लाग्ने ब्याजको शतप्रतिशत अनुदान सुविधा पनि पाउनेछन्।
बैंकका अनुसार यस सहकार्यले स्थानीय उद्यमशीलताको विकास, वित्तीय पहुँच विस्तार, वित्तीय समावेशीकरण तथा दिगो आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
बैंकले स्थानीय सरकारसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै उद्यमशीलता प्रवर्द्धनमा निरन्तर योगदान गर्ने प्रतिबद्धतासमेत जनाएको छ।
एक कार्यक्रममा सम्पन्न सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकका तर्फबाट कृषि तथा समावेशी लगानी विभाग प्रमुख तेजलबहादुर गिरी र नागार्जुन नगरपालिकाका तर्फबाट कार्यवाहक नगर प्रमुख सुशीला अधिकारीले हस्ताक्षर गरेका थिए।
