काठमाडौं। वित्तीय प्रणालीको निक्षेप ७७ खर्ब रुपैयाँमाथि पुगेको छ। अर्थतन्त्र सुस्त भएसँगै रेमिट्यान्स आप्रवाहमा आएको सुधारका कारण वित्तीय प्रणालीको निक्षेप उच्च विन्दुमा पुगेको हो।
नेपाल राष्ट्र बैंकका अनुसार गत आइतबारसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ७७ खर्ब ४ अर्ब रहेको छ। यो निक्षेप देशको कुल गार्हस्थ उत्पादन (जीडीपी)भन्दा १२६ प्रतिशतमाथि हो।
अर्थतन्त्रले अपेक्षअनुसार गति लिन नसक्दा रेमिट्यान्ससँगै निर्यातमा उच्च सुधार भएकाले वित्तीय प्रणालीमा निक्षेप बढेको हो। तर, वित्तीय प्रणालीको निक्षेप परिचालन गर्ने क्षेत्रले कर्जा माग नबढाउँदा उक्त रकम केन्द्रीय बैंकमा थुप्रिन पुगेको हो।
निक्षेप बढेसँगै सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जा लगानी ५७ खर्ब ८८ अर्ब रहेको राष्ट्र बैंकले जनाएको छ। केन्द्रीय बैंकको तथ्यांकअनुसार वाणिज्य बैंकको कुल निक्षेप ६९ खर्ब ४० अर्ब र विकास बैंक तथा फाइनान्स कम्पनीको ७ खर्ब ६४ अर्ब हो।
