Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

इनिसा विक मृत्यु प्रकरणः इनिसा हत्या प्रकरणको थप अनुसन्धान सीआईबीले गर्ने 

इनिसा विक मृत्यु प्रकरणः इनिसा हत्या प्रकरणको थप अनुसन्धान सीआईबीले गर्ने 

अर्थ प्लस
इनिसा विक मृत्यु प्रकरणः इनिसा हत्या प्रकरणको थप अनुसन्धान सीआईबीले गर्ने 

काठमाडौं । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विक घटनाको थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गर्ने भएको छ । सुर्खेत प्रहरीले बुधाबार उक्त घटनाको थप अनुसन्धानका लागि सीआईबीसँग सहयोग मागेको थियो ।

प्रहरी निरीक्षकको कमान्डमा ब्यूरोको विज्ञ टोली शुक्रबारसम्म वीरेन्द्रनगर आइपुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम डीएसपी मोनजंग बुढथापाले जानकारी दिए । ‘हामीले घटनाको थप अनुसन्धानको लागि सीआईबीसँग सहयोग मागेका थियौं,’ डिएसपी बुढथापाले भने, ‘भोलीदेखि सीआईबीको टोलीले थप अनुसन्धान थाल्छ ।’

सुर्खेत प्रहरीले पहिलो चरणको सम्पूर्ण अनुसन्धान जिल्लाबाटै सकेको डीएसपी बुढथापाले बताए । ‘पहिलो चरणको अनुसन्धान हामीले जिल्लाबाटै सकाएका छौं,’ उनले सँग भने, ‘घटनाको गाम्भीर्यतालाई मध्यनजर गरेर केन्द्रीय अनुसन्धान ब्यूरोको पनि सहयोग लिइएको हो ।’

अहिलेसम्म पोस्टमार्टम रिपोर्ट आइसकेको छ ।  फरेन्सिक ल्याबमा पीडित र पीडक परिवार दुवै जनाको मोबाइल लगायत विद्युतीय सामाग्रीहरू अनुसन्धानका लागि पठाएको र त्यसको रिपोर्ट आइनसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधिरराज शाहीले जानकारी दिए ।

‘केन्द्रीय विधिविज्ञान प्रयोगशालामा टकसिकोजिकल, बायोसेरोलोजिकल परिक्षणका लागि  पठाएका छौं । त्यो रिपोर्ट आएपछि, पोस्टमार्टम रिर्पोर्टसँग तुलता गरेर हत्याको अन्तिम निकर्षमा पुग्छौं,’ उनले भने । जिल्ला प्रहरी कार्यालय सुर्खेतले पनि एउटा छुट्टै अनुसन्धान टिम बनाएर काम गरिरहेको प्रहरी उपरीक्षक शाहीले जानकारी दिए ।  जिल्लाको अनुसन्धान टिमसँग कर्णाली प्रदेश प्रहरी कार्यालय नेपालगन्जबाट पोलिग्राफ गर्ने टोलीले पनि काम गरिरहेको छ ।

‘पोलियाग्राफीले मानिसले झुटो बोलेको पत्ता लगाउने छ, प्रहरी मृत्युको कारण पत्ता लगाउन घटनास्थलको सम्पूर्ण प्रमाणहरू प्रयोगशालामा पठाएको छ,’ उनले भने । पोस्टमार्टम रिपोर्ट, पोलियाग्राफी, कल डिटेल्स लगायत किशोर र किशोरीबीच भएका सम्पूर्ण विद्युतीय प्रमाणहरू प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार हालसम्म परिवारजनले बालिकाको शव बुझेका छैनन् । पीडित परिवारले दिएको जाहेरीका आधारमा शव परीक्षणका लागि थप अनुसन्धान गर्न भेरी अस्पताल बाँकेका फरेन्सिक विशेषज्ञ डा। अर्विन शाक्यको टोलीले प्रदेश अस्पताल सुर्खेतमा पुगेर शव परीक्षण गरी त्यसको प्रतिवेदन दिएको छ ।

सो प्रतिवेदनअनुसार जबरजस्ती करणी गर्दा मृतकको संवेदनशील अंग च्यातिएको र अत्यधिक रक्तस्राव हुँदा मृत्यु भएको उल्लेख छ । गुर्भाकोट–६, बडाखोली स्थायी घर भएकी इनिसाको फागुन २३ गते बिहान वीरेन्द्रनगर–४, शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा बलात्कार पछि हत्या भएको थियो । मृतकको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै मृतकका आफन्तहरूले फागुन २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरू चारै जना १८ वर्षमुनिका रहेको डिएसपी बुढथापाले जानकारी दिए । सुर्खेत प्रहरीले फागुन २३ गते दिउँसो नै एक १६ वर्षीय किशोरलाई पक्राउ गरेको थियो । थप अनुसन्धानका लागि फागुन २४ गते अरू तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार