काठमाडौं । कार्यालय समय परिवर्तनसँगै सडकमा सवारी जाम हुने समय पनि फेरिएको छ । जाम हुने समय अघि सरेपछि उपत्यका ट्राफिक प्रहरी कार्यालयले पनि ‘पिक आवर ड्युटी’को समय तालिका पनि अघि सारेको छ ।
पहिले कार्यालय समय १० बजेदेखि ५ बजेसम्म तोकिएको थियो । त्यतिबेला १० बजेभन्दा करिब एक घण्टा अगाडि र ५ बजेदेखि करिब एक घण्टा पछाडिसम्म सडकमा सवारी साधनको चाप अत्यधिक हुन्थ्यो । कतिपय स्थानमा त लामो समयसम्म ट्राफिक जाममा रोकिनुपर्थ्यो ।
२२ चैतको मन्त्रिपरिषद बैठकले कार्यालय समय ९ बजेदेखि ५ बजेसम्म हुने निर्णय गरेपछि सवारी साधनको चाप बिहान ८ बजेदेखि नै बढ्ने गरेको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी नरेशराज सुवेदीले सवारी साधनको चापलाई मध्यनजर गरेर बिहान ८ बजेदेखि नै ‘पिक आवर ड्युटी’ सुरु गर्ने प्रबन्ध मिलाइएको जानकारी दिए ।
पिक आवर ड्युटी भन्नाले बिहान ८ बजेदेखि ११ बजेसम्म र साँझ ४ बजेदेखि ७ बजेसम्मको अवधिलाई बुझाउँछ । बिहानको समयमा ट्राफिक जाम हुने समय अघि सरे पनि बेलुकाको जामको अवस्था भने अझै उस्तै छ ।
