गण्डकी। जिल्ला प्रहरी कार्यालय, कास्कीले फरार प्रतिवादीलाई धमाधम पक्राउ गर्न थालेको छ। विभिन्न मुद्दामा अदालतको फैसलाबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका प्रतिवादीलाई कानुनी कारबाहीको दायरामा ल्याउन प्रहरीले सक्रियता बढाएको हो।
अभियानअन्तर्गत शुक्रबार मात्रै दश जना फरार प्रतिवादीलाई पक्राउ गरिएको कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।
यस्तै, गत बिहीबार चेक अनादर कसुरमा नौ जना र मंगलबार चेक अनादर र चोरी मुद्दामा गरी छ जना फरार प्रतिवादी पक्राउ परेका थिए। शुक्रबार पक्राउ परेकामध्ये चेक अनादर कुसरमा सात, बैंकिङ कसुरमा एक जना र केही सार्वजनिक कसुरमा एक जना रहेको बस्नेतले बताए।
पक्राउ परेकाबाट सात दिन कैद सजाय र १४ लाख २९ हजार २०० जरिवाना असूल हुने गरी कास्की जिल्ला अदालतमा बुझाइएको उनले जानकारी दिए। गत मंगबार पक्राउ पर्नेमा चेक अनादर मुद्दाका पाँच र चोरी मुद्दाका एक फरार प्रतिवादीबाट एक वर्ष कैद र १६ हजार रुपैयाँ जरिवाना असुल उपर हुने जनाइएको छ।
चेक अनादर कुसरमा गत बिहीबार पक्राउ परेका नौ जनाबाट सात दिन कैद सजाय र ६४ हजार ८०० जरिवाना असुल हुनेगरी जिल्ला अदालतमा बुझाइएको छ।
