काठमाडौँ / आफ्नो सम्पत्तिबारे आलोचना भएपछि गृहमन्त्री सुधन गुरुङले जवाफ दिएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै गृहमन्त्री गुरुङले यस्तो जवाफ दिएका हुन् ।
उनले लेखेका छन्, “तिमी जन्मिदै गरिब जन्मिनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो । सरकारमा आउनुअघि बिना भ्रष्टाचार कमाउनु पाप होइन । सरकारमा आएर भ्रष्टाचार गरेर कमाउनु पाप हो ।”
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।
जसमा गृहमन्त्री गुरुङको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गृहमन्त्री सुधन गुरुङको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।
विवरणअनुसार उनी तथा उनको परिवारको नाममा विभिन्न स्थानमा ठूलो परिमाणमा जग्गा, सेयर, बैंक मौज्दात, सवारी साधन र सुन रहेको उल्लेख छ ।
गृहमन्त्री गुरुङको व्यक्तिगत नाममा धनकुटामा १९ रोपनी १५ आना जग्गा रहेको छ ।
त्यस्तै, उनका पिता दिलबहादुर गुरुङको नाममा चितवनमा ३० कठ्ठा जग्गा रहेको विवरणमा उल्लेख छ । उनका बाजे रामसल गुरुङको नाममा गोरखाको चुमनुब्री क्षेत्रमा २२१ रोपनी जग्गा रहेको सम्पत्ति विवरणमा जनाइएको छ ।
सेयर लगानीतर्फ पनि उनको उल्लेख्य सम्पत्ति देखिएको छ । होप होल्डिङ प्रालिको ३० हजार कित्ता सेयर र लगुम प्रिमियर अपार्टमेन्टको ५७ हजार कित्ता सेयर रहेको विवरणमा उल्लेख छ । धितोपत्र बजारमा सूचीकृत विभिन्न कम्पनीहरूमा गरी करिब २ करोड ७४ लाख ५६ हजार रुपैयाँ बराबरको लगानी रहेको जनाइएको छ ।
त्यस्तै एडभेन्चर भिल्ला प्रालिमा ७० हजार थान सेयर ९करिब ७० लाख रुपैयाँ० समेत उनको नाममा रहेको विवरणमा उल्लेख छ । सवारी साधनतर्फ लगुम प्रिमियर अपार्टमेन्टको एक थान कार रहेको छ, जसको मूल्य ४७ लाख ९९ हजार रुपैयाँ रहेको जनाइएको छ ।
बैंक मौज्दातअनुसार लक्ष्मी सनराइज बैंकमा ५ लाख ३५ हजार रुपैयाँ, नबिल बैंकमा ५६ लाख २५ हजार रुपैयाँ र सानिमा बैंकमा १ हजार ५ सय रुपैयाँ रहेको विवरणमा उल्लेख छ । त्यसैगरी, गृहमन्त्री गुरुङसँग ८९ तोला सुन रहेको पनि विवरणमा उल्लेख छ, जसलाई पैतृक सम्पत्ति भएको जनाइएको छ ।
