काठमाडौँ / सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राख्दै विशेषगरी कृषि क्षेत्रमा कर्जा लगानी विस्तार गरेको छ।
बैंकले चालु आर्थिक वर्ष २०८२ चैत मसान्तसम्म कृषि क्षेत्रमा ३९ अर्ब ५३ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ। बैंकले आधार दरमा न्यूनतम प्रिमियम कायम गर्दै सस्तो ब्याजदरमा कृषि कर्जा उपलब्ध गराउँदै आएको छ।
कुखुरापालन, बाख्रापालन, गाई-भैंसीपालन, माछापालन लगायतका कृषि परियोजनामा बैंकले लगानी गर्दै आएको छ। हाल बैंकले विभिन्न प्रदेशका कृषि उत्पादनलाई लक्षित गर्दै ४.७५ प्रतिशत ब्याजदरमा पाँच करोड रुपैयाँसम्मको ‘प्रदेश विशेष कृषि कर्जा’ उपलब्ध गराइरहेको छ।
त्यस्तै, स्थानीय साना कृषकलाई लक्षित गर्दै कुनै पनि प्रशोधन शुल्क नलिई ४.७५ प्रतिशत ब्याजदरमा १० लाख रुपैयाँसम्म ‘साना किसान सरल कर्जा’ प्रदान गर्दै आएको बैंकले जनाएको छ। साथै, किसानका लागि ‘किसान क्रेडिट कार्ड’ सुविधा पनि सञ्चालनमा रहेको छ।
कृषि कर्जा प्रवाहलाई व्यवस्थित बनाउन बैंकले छुट्टै कृषि कर्जा नीति र कार्यविधि लागू गरेको छ। साथै, केन्द्रिय कार्यालयमा कृषि तथा सामाजिक बैंकिङ विभाग स्थापना गरी दक्ष कृषि विज्ञमार्फत सेवा विस्तार गरिएको छ।
बैंकले देशभरका ३१४ शाखा र ७७ जिल्लामार्फत कृषि कर्जा सेवा प्रवाह गर्दै ग्रामीण कृषकहरूको पहुँच सुनिश्चित गरेको जनाएको छ।
बैंकका अनुसार कृषि क्षेत्रमा गरिएको लगानीले कृषिको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना र ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा सकारात्मक प्रभाव पारिरहेको छ।
