काठमाडौँ, जेठ १ । नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने भएको छ ।
मंगलबार बिहान सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले राष्ट्रपति पौडेललाई संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय गरेको हो । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले राष्ट्रपतिको गरिमा र मर्यादालाई हेरेर संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय भएको बताए ।
उनका अनुसार राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम पेस गरिसकेपछिका बैठकमा भने कांग्रेसले अवरोध कायम राख्ने छ । लेखकले भने, ‘त्यसपछिका कुनै पनि बैठकमा कांग्रेस सहभागी हुँदैन । संसदमा अवरोध गर्छौं ।’
सरकारको नीति तथा कार्यक्रम संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा मंगलबार दिउँसो ३ बजे राष्ट्रपति पौडेलले पेस गर्ने कार्यसूची छ ।
सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न माग गर्दै कांग्रेसले संसद बैठकमा अवरोध गर्दै आएको छ । संसदीय समिति बनाउन सरकार तयार नभएको भन्दै कांग्रेसले संसद अवरोधलाई कायमै राख्ने भएको हो । प्रमुख सचेतक लेखकले संसदीय समिति नबनेसम्म संसद अघि बढ्न नसक्ने बताए ।
‘सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछाने संलग्न छन् । समिति बनाएर छानबिन गर्नुपर्ने हाम्रो माग छ । तर, सरकार गम्भीर भएन’, उनले भने,‘बचतकर्ताको पीडामा सरकार गम्भीर नभएकाले हामी विरोधमा उत्रिएका हौँ । संसदीय समिति गठन नभएसम्म सदन अघि बढ्न दिँदैनौँ ।’
प्रमुख सचेतक लेखकले बचतकर्ताको रकम रक्षा गर्ने र फिर्ता गर्ने काममा सरकार गम्भीर नभएको बताए ।
