काठमाडौं, असार २: सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको पहिलो दिन भुवन नगरकोटी ९-अन्डर ६३ को सानदार स्कोरमा शीर्षस्थानमा रहेका छन्।
पहिलो राउन्डको समाप्तीमा भुवनले तीन एमेच्योर गल्फरहरू सदभाव आचार्य, तेन्जिङ छिरिङ र नोर्बु छिरिङ शेर्पालाई ४ स्ट्रोकले पछि पारे। ५-अन्डर ६७ स्कोर गरेका सदभाव, तेन्जिङ र नोर्बु संयुक्तरुपमा दोस्रो स्थानमा रहेका छन्।
४-अन्डर ६८ को स्कोरमा शुक्र बहादुर राई र तोरण विक्रम शाहीले पाँचौं स्थान बाँडे। यस्तै ३-अन्डर ६९ को स्कोरमा एमेच्योर वाङचेन ढोन्डुप तथा प्रोफेसनल खेलाडी निरज तामाङ, भुवन कुमार रोक्का, सुबाश तामाङ र दिनेश प्रजापति संयुक्तरुपमा सातौं स्थानमा रहे।
साबिक विजेता एमेच्योर गल्फर राहुल विश्वकर्मा २-अन्डर ७० सहित १२औं र धन बहादुर थापा १-अन्डर ७१ सहित १३औं स्थामा छन्।
भुवनले सानदार प्रदर्शन गर्ने क्रममा बोगी रहित कार्ड तयार पारे। पहिलो, तेस्रो र सातौं होलको बर्डीले फ्रन्ट नाइन ३-अन्डर ३३ मा सकाए। यसपछि उनले ११औं, १३औं, १४औं र १५औं होलमा बर्डी प्रहार गरे भने ४ पारको १८औं होलमा इगलको सफलता प्राप्त गरे। ब्याक नाइन ६-अन्डर ३० मा सकाए।
सदभावले दिनको सुरूवात बोगीबाट गरेपनि तेस्रो, सातौं र नवौं होलमा एक-एक सट बचाउँदै फ्रन्ट नाइनमा २-अन्डर ३४ खेले। यसपछि ११औं होलमा बोगी प्रहार गरे पनि १२औं होलमा इगलको सफलता प्राप्त गरे। यसपछि १५औं र १८औं होलको बर्डीले ब्याक नाइन ३-अन्डर ३३ मा सकाए।
तेन्जिङले पहिलो होलमा बोगी खेपे। दोस्रो, तेस्रो र सातौं होलमा एक-एक सट बचाए। आठौं होलमा डबल बोगी खेले। लगतै नवौं होलको इगलले फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए। १०औं होलमा फेरि डबल बोगी खेपे लगतै ११औं होलमा दिनको दोस्रो इगल प्रहार गरे। यसपछि १२औं, १७औं र १८औं होलको बर्डीले ब्याक नाइन ३-अन्डर ३३ खेले।
नोर्बुले बोगीे रहित फ्रन्ट नाइन खेल्ने क्रममा पहिलो, तेस्रो र सातौं होलमा बर्डी प्रहार गरे। फ्रन्ट नाइनमा ३-अन्डर ३३ खेले। यसपछि १० औं होलमा बोगी खेपेका उनले ११औं, १५औं र १६औं होलको बर्डीले ब्याक नाइन २-अन्डर ३४ मा सकाए।
सिजनको सर्वाधिक १८ लाख नगद पुरस्कार राशी रहेको प्रतियोगितामा ४६ प्रोफेसनल र २२ एमेच्योर गरी ६८ खेलाडीले सहभागिताका जनाएका छन्। दोस्रो दिनको समाप्तीमा कट लागु हुनेछ। शीर्ष १८ प्रोफेसनल तथा सोहि कटमा पर्ने एमेच्योर खेलाडीहरूले अन्तिम दुई राउन्डको लागि स्थान सुरक्षित गर्नेछन्।
विजेताले उपाधिसँगै नगद ३ लाख २० हजार प्राप्त गर्नेछन्। दोस्रो, तेस्रो र चौथो हुने खेलाडीहरूले क्रमश २ लाख ६ हजार, १ लाख ६२ हजार र १ लाख ४५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। शनिबार प्रो-एम प्रतियोगिता हुनेछ।
