काठमाडौँ / नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ अन्तर्गत गोल्ड अवार्ड प्राप्त गरेको छ। कम्पनीले स्थापनाको २५औँ वार्षिकोत्सव मनाइरहेको अवसरमा यो उपलब्धि हासिल गरेको जनाएको छ।
उक्त अवार्ड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले असार १६ गते काठमाडौँमा आयोजित विशेष समारोहमा प्रदान गरेको हो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले संयुक्त रूपमा सम्मान ग्रहण गरेका थिए।
आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय प्रतिवेदनको उत्कृष्ट प्रस्तुति, वित्तीय पारदर्शिता, पर्याप्त खुलासा, नेपाल वित्तीय प्रतिवेदन मान तथा लेखा मापदण्डको प्रभावकारी पालना र संस्थागत सुशासनप्रतिको प्रतिबद्धताका आधारमा कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो।
कम्पनीका अनुसार यस अवार्डले वित्तीय जवाफदेहिता, पारदर्शिता र सुशासनलाई संस्थागत संस्कृतिका रूपमा आत्मसात गर्दै उत्कृष्ट अभ्यासलाई निरन्तरता दिएको पुष्टि गरेको छ।
अवार्ड प्राप्तिपछि प्रमुख कार्यकारी अधिकृत पराजुलीले यो सम्मान सम्पूर्ण नेपाल लाइफ परिवारका लागि गौरवको विषय भएको बताउँदै यसले कम्पनीलाई अझ उच्च स्तरको वित्तीय पारदर्शिता, सुशासन र उत्कृष्ट कार्यसम्पादनतर्फ अघि बढ्न थप जिम्मेवारी दिएको प्रतिक्रिया दिए। उनले सञ्चालक समिति, बीमित, अभिकर्ता, कर्मचारी, शेयरधनी, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरे।
कम्पनीका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म ५२ लाख ४० हजारभन्दा बढी बीमालेख जारी गर्दै लाखौँ नेपालीलाई आर्थिक सुरक्षाको दायरामा ल्याएको छ।
कम्पनीले २ खर्ब ६७ अर्ब रुपैयाँभन्दा बढीको जीवन बीमा कोष व्यवस्थापन गरिरहेको तथा हालसम्म १ खर्ब १३ अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरिसकेको जनाएको छ।
नेपाल लाइफले हालसम्म नेपाल सरकारलाई १७ अर्ब रुपैयाँभन्दा बढी राजस्व तथा कर बुझाएको पनि जनाएको छ। साथै, इक्रा नेपालबाट डबल ए माइनस क्रेडिट रेटिङ प्राप्त गर्ने नेपालको पहिलो जीवन बीमा कम्पनी बनेको दाबी गरेको छ।
हाल कम्पनीका ७७ वटै जिल्लामा १९७ वटा कार्यालय तथा ६५ हजारभन्दा बढी सक्रिय अभिकर्ता रहेको जनाइएको छ।
कम्पनीले वित्तीय पारदर्शिता, सुशासन र ग्राहकप्रतिको प्रतिबद्धतालाई आधार बनाएर आगामी दिनमा पनि नेपाली नागरिकको आर्थिक सुरक्षा र समृद्ध भविष्य निर्माणमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।
