एउटा राइडबाट सुरु भएको यात्रा
आज सुनिधि राई टिकटकमा ‘सुनिधी राइड्स’ का नामले चिनिन्छिन्। तर यो पहिचान बन्नुअघि उनी नयाँ बाटो, अन्जान गन्तव्य र अर्को मोडपछाडि के आउँछ भन्ने जिज्ञासासँगै प्राप्त हुने स्वतन्त्रतामा रमाउने एक यात्राप्रेमी मात्र थिइन्। उनको यात्रा पनि अनेकौं सफलताका कहानीहरू जस्तै स्वभाविक र सामान्य रूपमै सुरु भएको थियो। घुम्न मन पराउने सुनिधी आफूले घुमेका ती पलहरूलाई सम्झनाका लागि सुरक्षित राख्न चाहन्थिन्। क्यामेरा त उनले यात्रा गर्न सुरु गरेपछि मात्र आएको थियो। उनी भन्छिन्, “मोटो भ्लगिङ गर्ने मेरो कुनै योजना थिएन। धेरै ट्राभल गरिरहने भएकाले बिस्तारै ती क्षणहरूलाई कैद गर्न थालेँ, ताकि पछि जीवनमा ती अनुभवहरूलाई फेरि सम्झन सकूँ।” सुरुमा केवल व्यक्तिगत सम्झनाको रूपमा राखिएका कन्टेन्ट नै विस्तारै ठूलो बन्दै गयो। टिकटकमा पुगेपछि त त्यसले आफ्नो दर्शक पनि भेट्टायो।
कन्टेन्ट यात्राको लागि प्रेरणा
सुनिधीको कन्टेन्ट क्रियसनको यात्रा सडकमा आफूले गरेका यात्राहरूलाई डकुमेन्ट गर्ने साधारण सोचबाट सुरु भएको थियो। सुरुमा सामान्य रूपमा शेयर गरिएका भिडियोहरूलाई नै विस्तारै धेरै दर्शकहरूले मन पराउन थाले। उनको साहसिक यात्रा र स्वतन्त्रताको अनुभूतिले दर्शकहरूलाई आकर्षित गर्न थाल्यो। दर्शकको सङ्ख्या बढ्दै जाँदा उनले आफ्नो कन्टेन्टले अरूलाई पनि अझै बढी यात्राहरू गर्न, अझै धेरै राइड गर्न र नयाँ गन्तव्यहरूको खोज र अन्वेषण गर्न प्रेरित गरिरहेको छ भन्ने महसुस गरिन्। यही नै उनको यात्राको सबैभन्दा ठूलो प्रेरणा बन्यो।
टिकटकले उनको यात्रामा महत्वपूर्ण भूमिका खेलेको छ। यसले उनलाई बिना कुनै बनावटीपन आफ्नै तरिकाले प्रस्तुत हुने अवसर दियो र फराकिलो समुदायसम्म पुग्न मद्दत गर्यो। समयसँगै ‘सुनिधी राइड्स’ केवल एउटा च्यानल मात्र रहेन, यो यात्रु, र समान सोच र सपना भएका राइडरहरूको समुदाय नै बन्यो।
क्षणहरूलाई कैद गर्न सिक्दै
धेरै कन्टेन्ट क्रिएटरहरूझैँ, सुनिधीको पनि कन्टेन्टप्रतिको दृष्टिकोण समयसँगै परिवर्तन हुँदै आयो। उनले पहिलोपटक पोखरामा भएको एन्डुरो रेसमा भाग लिँदा ठूलो पाठ सिकिन्। प्रतिस्पर्धाको तनावका कारण उनले आफ्नो त्यस अनुभवलाई भिडियोमा कैद गरिनन्। पछि फर्केर हेर्दा त्यो सम्झनालाई पुनः अनुभव गर्ने माध्यम आफूसँग नभएको उनलाई महसुस भयो।
यस क्षणले उनलाई आफ्ना यात्राका क्षणहरू डकुमेन्ट गरेर राख्नु पर्ने रहेछ भन्ने महशुस गरायो। त्यसपछि उनले आफ्नो यात्राका हरेक अनुभव, भावना र उपलब्धिहरू कैद गर्न थालेकी हुन्। अहिले क्यामेराले समयसँगै धमिलिँदै जाने ती क्षणहरूलाई ताजा र सुरक्षित राख्न मद्दत गर्छ, जसले भविष्यमा ती अनुभवलाई फेरि बाँच्न सकिने बनाउँछ।
ती तमाम महिलाका लागि, जसलाई “बाइक नचलाउ” भनिएको थियो
नेपालमा महिला राइडरलाई अझै पनि केही फरक नजरले हेर्ने गरिन्छ। तर सुनिधीले ती धेरै सीमाहरूलाई बेवास्ता गर्दै आफ्नै बाटो बनाएकी छन्। उनीसँग धेरै महिलालाई राइड गर्न प्रेरित गर्ने स्पष्ट उद्देश्य छ। किनभने, उनको बुझाइमा गतिशीलता नै स्वतन्त्रता हो।
टिकटकले उनको यो सन्देशलाई अझ ठूलो पहुँच दियो। पहिले आफूप्रतिको विश्वासको रूपमा रहेको यो कुरा नै आज देशभित्र र बाहिर रहेका धेरै महिलाहरूसम्म पुगिरहेको छ। उनी भाषण गर्दिनन्, केवल आफ्नो यात्रा सबैसामू प्रस्तुत गर्छिन् र सडक आफैंले यो स्वतन्त्रताको कथा सुनाइरहेको हुन्छ।
टिकटकले फेरिदिएको यात्रा
यदि इन्स्टाग्राम एउटा व्यवस्थित ग्यालरी हो भने, टिकटक सुनिधीका लागि खुला सडकजस्तै हो। यही फरकले उनको यात्रालाई अझ विशेष बनाएको छ। टिकटकले उनलाई स्वभाविक, रमाइलो र आफ्नो वास्तविक रूपमै प्रस्तुत हुन मौका दिएको छ। यहाँ केहि पोलिश गर्नु पर्दैन, कुनै बनावटी कुरा गर्नु पर्दैन। आफूलाई पूरै स्वभाविक र प्राकृतिक रूपमा प्रस्तुत गर्न सकिन्छ। उनी भन्छिन्, “टिकटकमा म आफूलाई पूर्ण रूपमा अभिव्यक्त गर्न सक्छु।” यसले उनलाई नयाँ दर्शकसम्म पुग्न, समान सोच भएका राइडरसँग जोडिन र आफ्नो समुदाय विस्तार गर्न मद्दत गर्यो। यसले उनको कन्टेन्टलाई धार प्रदान गर्नुका साथै उनका फलोअरहरूलाई भेटघाट गर्ने एउटा डिजिटल ठाउँ समेत प्रदान गर्यो। तीन महिनाको लागि सामाजिक सञ्जालबाट विश्राम लिँदा एकजना फलोअरले पठाएको “तपाईंको भिडियो नआउँदा त ट्राभल गर्न पनि पाइएन” भन्ने मेसेजले उनलाई उनलाई ‘सुनिधी राइड्स’ केवल कन्टेन्ट होइन, यो त सम्बन्ध र समुदायको कथा हो भन्ने बुझायो।
टिकटकमा #ladyrider, #nepalirider, #motovlognepal र #bikersnepal जस्ता ह्यासट्यागहरूले मोटो भ्लगिङसम्बन्धी कन्टेन्ट खोज्न र नेपालमा विस्तार हुँदै गएको राइडर समुदायसँग जोडिन मद्दत गर्छन्। यी ह्यासट्यागमार्फत समान रुचि भएका राइडरहरू भेट्न, उनीहरूका अनुभवहरू बुझ्न र फराकिलो बाइकिङ समुदायको हिस्सा बन्न अझ सहज हुन्छ।
अगाडिको यात्रा
सुनिधीका लागि राइडिङ केवल रोमाञ्च वा गन्तव्यमा पुग्ने माध्यम मात्र होइन, यो त स्वतन्त्रताको सबैभन्दा पवित्र अनुभूति हो। यसले उनलाई नयाँ ठाउँहरू खोज्न, प्रकृतिसँग जोडिन र जीवनलाई अझ गहिरो रूपमा अनुभव गर्न मद्दत गर्छ। उनी भन्छिन्, “मलाई यात्रा गर्न असाध्यै मन पर्छ। मेरो KTM सँगै नेपालका हरेक कुनामा पुगेर यहाँको संस्कृति, खाना र शान्तिलाई अनुभव गर्न चाहन्छु। अझ धेरै रोमाञ्चकता, केही उतारचढाव र सधैंजस्तै अन्तिममा प्राप्त हुने शान्तिका लागि म छिट्टै फेरि मोटो भ्लगिङमा फर्किँदैछु।” उनका लागि हरेक यात्रा जीवनलाई निरन्तर गतिमा, खुला मनले र पूर्ण उपस्थितिसहित बाँच्ने सम्झना हो।
