Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० नयाँ सवारीसाधन सार्वजनिक हुने

NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० नयाँ सवारीसाधन सार्वजनिक हुने

अर्थ प्लस
NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० नयाँ सवारीसाधन सार्वजनिक हुने

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) ले आगामी साउन २६ देखि ३१ गते (अगस्ट ११–१६, २०२६) सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी अन्तर्राष्ट्रिय तथा स्वदेशी ब्रान्डको सहभागिता रहने तथा ४० भन्दा बढी नयाँ सवारीसाधन तथा प्रविधि सार्वजनिक गरिने जनाएको छ।

सोमबार काठमाडौंस्थित द सोल्टी होटलमा आयोजित पत्रकार सम्मेलनमार्फत दोस्रो संस्करणको एक्स्पोका मुख्य विशेषता सार्वजनिक गर्दै नाइमाले यसलाई नेपालको सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनीका रूपमा आयोजना गर्न लागिएको जानकारी दिएको हो।

naima expo.png

एक्स्पोमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे, व्यावसायिक सवारी, विद्युतीय तथा हाइब्रिड सवारी, मोबिलिटी प्रविधि, चार्जिङ समाधान, वित्तीय सेवा तथा अन्य आधुनिक मोबिलिटीसम्बन्धी उत्पादन र सेवाहरू प्रदर्शन गरिनेछन्।

पत्रकार सम्मेलनमा नाइमा अध्यक्ष रितु सिंह वैद्यले नाइमा एक वर्षअघि २१ सदस्य कम्पनीबाट सुरु भएको संस्था हाल ३६ प्रमुख सदस्य कम्पनीसम्म विस्तार भएको जानकारी दिँदै यसले नेपालको अटोमोबाइल उद्योगमा एकीकृत प्लेटफर्मको आवश्यकता र संस्थाप्रतिको विश्वास झल्काएको बताउनुभयो।

उहाँले नाइमाको "Empowering Growth Through Mobility" भन्ने दृष्टि र "Mobility for All" भन्ने मिसन केवल एक्स्पोमा सीमित नभई रोजगारी, उद्यमशीलता, सार्वजनिक सेवा, पहुँच विस्तार र आर्थिक वृद्धिसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्नुभयो।

वैद्यका अनुसार नाइमाले गत एक वर्षमा पहिलो संस्करणको एक्स्पो सफलतापूर्वक सम्पन्न गर्नुका साथै ट्राफिक प्रहरीका लागि क्षमता अभिवृद्धि तालिम, सडक सुरक्षासम्बन्धी अभियान, सरकारी निकायसँग सहकार्य, आकस्मिक सहयोग तथा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ।

उहाँले एक्स्पोको टिकट बिक्रीबाट प्राप्त आम्दानीको कम्तीमा १० प्रतिशत अनुसन्धान फेलोसिप तथा क्षमता विकास कार्यक्रमका लागि छुट्याइने जानकारी पनि दिनुभयो। यसबाट तयार हुने अनुसन्धान सामग्री NAIMA Mobility Journal मार्फत प्रकाशित गरिनेछ।

कार्यक्रममा नाइमा बोर्ड सदस्य सन्दीप शारडाले यस्ता प्रदर्शनीले लगानी, व्यापार विस्तार, रोजगारी सिर्जना तथा समग्र अर्थतन्त्रलाई गतिशील बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

त्यस्तै NAIMA Auto Show Planning Committee का संयोजक गौरव शारडाले यस वर्षको एक्स्पोलाई थप व्यवस्थित, समावेशी र आगन्तुकमैत्री बनाइएको जानकारी दिँदै मनसुनलाई ध्यानमा राखेर आवश्यक पूर्वाधार तयार गरिएको बताउनुभयो।

उहाँका अनुसार अपाङ्गता भएका व्यक्तिका लागि सहज पहुँचको व्यवस्था गरिनेछ भने नेपाल पुलिस क्लबमा पार्किङ सुविधा उपलब्ध हुनेछ। साथै, पठाओले राइड पार्टनरका रूपमा छुटसहितको सेवा उपलब्ध गराउने र युनियन पे क्यूआरमार्फत टिकट खरिद गर्दा क्यासब्याक सुविधा प्रदान गरिनेछ।

naima expo2.png

यस वर्षको एक्स्पोको अर्को प्रमुख आकर्षण नेपाल पुलिस क्लबको ब्लु पेभिलियनस्थित अडिटोरियम हलमा सञ्चालन हुने निःशुल्क लर्निङ सेसन हुनेछ। ती सत्रमा विज्ञ, शिक्षाविद्, उद्योगी तथा नीतिनिर्माताले मोबिलिटी, प्रविधि, सडक सुरक्षा, उपभोक्ता सचेतना, सीप विकास, रोजगारी तथा नेपालको मोबिलिटी क्षेत्रको भविष्यबारे छलफल गर्नेछन्।

एक्स्पोका सह-प्रायोजक ग्लोबल आईएमई बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले एक्स्पोमार्फत आगन्तुकलाई विशेष बैंकिङ तथा सवारीसाधन वित्तीय सुविधा उपलब्ध गराइने जानकारी दिनुभयो।

त्यस्तै रेड बुल नेपालका मार्केटिङ प्रमुख श्रय कृष्ण श्रेष्ठले एक्स्पो अवधिभर विभिन्न आकर्षक कार्यक्रम सञ्चालन गरिने बताउँदै नाइमाले गरिरहेको क्षमता विकास र जनचेतनामूलक अभियानको प्रशंसा गर्नुभयो।

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ लाई ग्लोबल आईएमई बैंकले सह-प्रायोजक तथा रेड बुलले ‘पावर्ड बाई’ बेभरेज पार्टनरका रूपमा सहयोग गरेका छन्। यसबाहेक विभिन्न बैंक, बीमा कम्पनी, प्रविधि, चार्जिङ, टिकटिङ, स्वास्थ्य, सुरक्षा, सञ्चार तथा इभेन्ट व्यवस्थापन क्षेत्रका संस्थाहरू पनि साझेदारका रूपमा आबद्ध भएका छन्।

पत्रकार सम्मेलनको सञ्चालन नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले गर्नुभएको थियो। नाइमाले परिवार, विद्यार्थी, व्यवसायी, उद्योगी, नीति निर्माता तथा सर्वसाधारणलाई साउन २६ देखि ३१ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोमा सहभागी भई नेपालको सबैभन्दा ठूलो मोबिलिटी प्लेटफर्मको अनुभव लिन आग्रह गरेको छ।

सम्बन्धित समाचार