काठमाडौँ / देशभर मनसुनी वायु सक्रिय रहेकाले आइतबार अधिकांश स्थानमा वर्षा हुने तथा केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिम क्षेत्रमा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई भू–भाग नजिक रहेको छ।
अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आइतबार दिउँसो देशभर अधिकांश स्थानमा बदली रहनेछ। हिमाली र पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराईका धेरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ।
यस्तै, मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
रातिको समयमा पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थान तथा तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। साथै, यी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
महाशाखाले भारी वर्षाका कारण नदी–नाला तथा खोला आसपास, पहाडी तथा भू–क्षय हुने जोखिम भएका क्षेत्रमा सतर्क रहन र आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।
