काठमाडौँ / बैंकिङ प्रणालीमा लगातार बढिरहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले बुधबार एक खर्ब रुपैयाँ बराबरको ९१ दिने निक्षेप संकलन उपकरण जारी गरेको हो
पछिल्ला केही महिनादेखि प्रणालीमा पर्याप्तभन्दा बढी नगद मौज्दात रहँदा बजारमा ब्याजदर घट्ने दबाब बढेको छ। त्यसलाई सन्तुलनमा राख्न केन्द्रीय बैंकले पुनः तरलता सोस्ने नीति अघि बढाएको हो।
राष्ट्र बैंकका अनुसार मंगलबारसम्म वित्तीय प्रणालीमा करिब ८२ अर्ब रुपैयाँ अधिक तरलता रहेको छ। यसअघि सोमबार र मंगलबार गरी ३० अर्ब रुपैयाँ राष्ट्र बैंक ऋणपत्रमार्फत बजारबाट खिचिए पनि तरलता उच्च नै रहेपछि थप निक्षेप संकलन उपकरण प्रयोग गरिएको हो।
पुराना निक्षेप संकलन र स्थायी निक्षेप सुविधाका रकम परिपक्व भएर बैंकिङ प्रणालीमा फर्किएपछि तरलताको दबाब अझ बढेकाले यसपटक प्रणालीमा देखिएको अधिक तरलताभन्दा ठूलो रकमको आह्वान गरिएको राष्ट्र बैंकले जनाएको छ।
निक्षेप संकलन उपकरणमार्फत बैंक तथा वित्तीय संस्थाले आफूसँग रहेको अतिरिक्त रकम निश्चित अवधिका लागि राष्ट्र बैंकमा जम्मा गर्न सक्छन्। बोलकबोल प्रक्रियाबाट कम ब्याजदर प्रस्ताव गर्ने संस्थाहरूलाई प्राथमिकताका आधारमा रकम बाँडफाँट गरिन्छ।
यस प्रक्रियाले बजारमा रहेको अतिरिक्त नगद अस्थायी रूपमा केन्द्रीय बैंकमा तान्ने भएकाले ब्याजदर स्थिर राख्न सहयोग पुग्ने विश्वास गरिन्छ।
राष्ट्र बैंकले मौद्रिक नीतिअनुसार वित्तीय प्रणालीको तरलता र अन्तरबैंक ब्याजदर व्यवस्थापन गर्न निक्षेप संकलन, स्थायी निक्षेप सुविधा र राष्ट्र बैंक ऋणपत्रजस्ता उपकरण प्रयोग गर्दै आएको छ।
विपरीत अवस्थामा, अर्थात् बजारमा तरलताको अभाव हुँदा भने स्थायी तरलता सुविधा र रिपोमार्फत बैंकिङ प्रणालीमा रकम प्रवाह गरिन्छ।
हाल ब्याजदर करिडोरअन्तर्गत बैंक दर ६ प्रतिशत र स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशत कायम छ। केन्द्रीय बैंकले बजारमा पैसा पठाउँदा बैंक दरअनुसार ब्याज लिने र बजारबाट पैसा खिच्दा एसडिएफ दर बराबरको ब्याज दिने व्यवस्था रहेको छ।
राष्ट्र बैंकका अनुसार बुधबारसम्म केन्द्रीय बैंकसँग वित्तीय प्रणालीबाट संकलित कुल १३ खर्ब ३१ अर्ब ७० करोड रुपैयाँ मौज्दात रहेको छ।
यसमध्ये ७ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप संकलन उपकरणमार्फत, ४ खर्ब रुपैयाँ राष्ट्र बैंक ऋणपत्रमार्फत तथा २ खर्ब १ अर्ब रुपैयाँ स्थायी निक्षेप सुविधामार्फत संकलन गरिएको छ।
बैंकिङ प्रणालीमा लगानीयोग्य स्रोत पर्याप्त हुँदा पनि कर्जा विस्तार सुस्त रहेको संकेतसमेत यो अवस्थाले दिएको छ। त्यसैले राष्ट्र बैंकले मौद्रिक उपकरणमार्फत बजारको तरलता व्यवस्थापनलाई निरन्तरता दिएको हो।
