काठमाडौँ / औद्योगिक क्षेत्रका भौतिक संरचना प्रयोग गरेबापत लामो समयदेखि बाँकी रहेको बक्यौता महसुल असुलीमा सरकारले उल्लेखनीय प्रगति हासिल गरेको छ।
चालु आर्थिक वर्षको असार मसान्तसम्म देशभरका विभिन्न औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगबाट ४६ करोड ८६ लाख रुपैयाँ महसुल राज्यकोषमा दाखिला भएको छ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका सूचना अधिकारी वासुदेव सोडारीका अनुसार देशभर रहेका १० वटा औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगहरूले उक्त रकम बुझाएका हुन्।
बक्यौता असुलीलाई प्रभावकारी बनाउन लिमिटेडले निरन्तर ताकेता, पत्राचार र कानुनी व्यवस्थाअनुसार कडाइ गर्दै आएको उनले बताए।
उनका अनुसार देशभरका औद्योगिक क्षेत्रमा सञ्चालित ३०० भन्दा बढी उद्योगको करिब ८८ करोड रुपैयाँ बक्यौता रहेको थियो। त्यसमध्ये असार मसान्तसम्म ४६ करोड ८६ लाख रुपैयाँ असुल भइसकेको छ भने बाँकी रकम उठाउन प्रक्रिया जारी रहेको छ।
बक्यौता नतिर्ने उद्योगमाथि कडाइ
सूचना अधिकारी सोडारीका अनुसार पटक–पटक ताकेता गर्दा पनि बक्यौता नतिर्ने १० वटा उद्योगको विद्युत् आपूर्ति (लाइन) काटिएको छ। बक्यौता नबुझाउने उद्योगहरूलाई कानुनी प्रक्रियाअनुसार थप कारबाही गरिने तयारीसमेत गरिएको उनले बताए।
उनका अनुसार केही उद्योगले विद्युत् लाइन काटिएपछि बक्यौता तिर्ने प्रक्रिया अघि बढाएका छन् भने बाँकी उद्योगलाई पनि तत्काल बक्यौता चुक्ता गर्न निर्देशन दिइएको छ।
कन्टिनेन्टल समूहका उद्योगको ठुलो बक्यौता
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार कन्टिनेन्टल ग्रुपअन्तर्गतका दुई उद्योगको मात्रै करोडौँ रुपैयाँ बक्यौता रहेको छ।
ती उद्योगसँग बक्यौता असुल गर्न पनि आवश्यक प्रक्रिया अघि बढाइएको जनाइएको छ। यद्यपि, बक्यौता रकम नबुझाए थप कानुनी कारबाही हुन सक्ने चेतावनी लिमिटेडले दिएको छ।
नियमित महसुल सङ्कलनमा जोड
लिमिटेडले औद्योगिक क्षेत्रभित्रका उद्योगबाट भाडा, सेवा शुल्क तथा अन्य प्रयोग शुल्क नियमित रूपमा सङ्कलन गर्ने नीति लिएको जनाएको छ।
उद्योगहरूले समयमै महसुल नतिर्दा औद्योगिक क्षेत्रको पूर्वाधार मर्मत, व्यवस्थापन तथा सेवा विस्तारमा असर पर्ने भएकाले बक्यौता असुलीलाई प्राथमिकतामा राखिएको लिमिटेडको भनाइ छ।
लिमिटेडले सबै उद्योगलाई तोकिएको समयभित्र महसुल तथा सेवा शुल्क बुझाउन आग्रह गर्दै बक्यौता कायम राख्ने उद्योगमाथि आवश्यक कानुनी तथा प्रशासनिक कारबाहीलाई थप कडा बनाइने जनाएको छ।
