काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका कारण अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक महिनायताकै उच्च विन्दुमा पुगेको छ । मध्यपूर्वमा युद्ध चर्किने आशंकाले विश्व बजारमा ऊर्जा आपूर्तिप्रति चिन्ता बढेसँगै सोमबार ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ९१ अमेरिकी डलर नाघेको हो ।
अमेरिका र इरानबीच गत सातादेखि सैन्य टकराव तीव्र बनेपछि विश्वको समुद्री तेल आपूर्तिको करिब २० प्रतिशत ओसारपसार हुने हर्मुज जलसन्धिमा अवरोध आउन सक्ने जोखिमले तेलको मूल्यमा उछाल आएको विश्लेषण गरिएको छ । गत साताको अन्त्यमा ब्रेन्ट र अमेरिकी मापदण्ड वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटीआई) दुवैको मूल्य चार प्रतिशतभन्दा बढीले वृद्धि भएको थियो ।
अमेरिकाले इरानी सैन्य लक्ष्यमा थप हवाई आक्रमण गरेपछि इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी तथा साझेदार राष्ट्रका सैन्य सम्पत्तिमाथि जवाफी आक्रमण गरेको घटनाले बजारमा भू–राजनीतिक तनाव अझ बढाएको छ ।
उच्च तेल मूल्यले विश्वव्यापी मुद्रास्फीति फेरि बढ्न सक्ने र विभिन्न केन्द्रीय बैंकहरूले ब्याजदर कटौती गर्ने योजनामा असर पर्न सक्ने चिन्ता पनि बढेको छ ।
एसपीआई एसेट म्यानेजमेन्टका विश्लेषक स्टिफन इनेसका अनुसार बजारले एकैपटक भू–राजनीतिक जोखिम र कमजोर बन्दै गएको अमेरिकी मुद्रास्फीतिबीचको द्वन्द्वपूर्ण अवस्था सामना गरिरहेको छ । उनका अनुसार तेलको मूल्य लामो समयसम्म उच्च रहिरहेमा त्यसले घरायसी खर्च र आर्थिक वृद्धिमा दबाब सिर्जना गर्न सक्छ ।
यता, चीनले अर्थतन्त्रलाई थप प्रोत्साहन दिने अपेक्षाका बीच एसियाली शेयर बजारमा मिश्रित कारोबार भएको छ । हङकङको सूचकाङ्क दुई प्रतिशतभन्दा बढी र साङ्घाईको सूचकाङ्क १।३२ प्रतिशतले बढ्दा ताइपेई, मनिला र सिङ्गापुरका बजार पनि हरियालीमा देखिएका छन् । तर सियोल, सिड्नी र वेलिङ्टनका बजारमा भने सतर्क कारोबार देखिएको छ ।
यसैबीच, अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य ०.४० प्रतिशतले घट्दा चाँदीको मूल्य भने एक प्रतिशतले बढेको छ ।
