काठमाडौँ / प्रधानमन्त्री वालेन्द्र शाहले पुँजी बजारलाई मुलुकको आर्थिक विकास, उद्यमशीलता प्रवर्द्धन र रोजगारी सिर्जनाको प्रमुख आधारका रूपमा अघि बढाउने सरकारको प्रतिबद्धता व्यक्त गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार पुँजी बजारसँग सम्बन्धित सरोकारवाला र नियमनकारी निकायका प्रतिनिधिसँग भएको छलफलमा उनले व्यवसायमैत्री वातावरण निर्माण गर्दै आवश्यक सुधारका लागि सरकार सकारात्मक रहेको बताएका हुन्।
छलफलका क्रममा प्रधानमन्त्री शाहले इमान्दारीपूर्वक काम गर्ने व्यवसायीलाई प्रोत्साहन गर्ने र अनियमितता तथा गलत कार्यप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरिने स्पष्ट पारे। उनले निजी क्षेत्र र लगानीकर्ताको मनोबल उच्च राख्दै अर्थतन्त्रलाई चलायमान बनाउने दिशामा सरकार अघि बढिरहेको पनि बताए।
भेटमा सहभागी पुँजी बजारका सरोकारवालाले बजारको दीर्घकालीन विकासका लागि कानुनी, नीतिगत, संस्थागत तथा प्रणालीगत सुधार अपरिहार्य रहेको धारणा राखेका थिए। उनीहरूले दोस्रो बजारमा माग र आपूर्तिबीच सन्तुलन कायम गर्न, प्राथमिक शेयर निष्कासन (आईपीओ) प्रणालीलाई थप व्यवस्थित बनाउन तथा दैनिक कारोबार रकम ३० अर्ब रुपैयाँ पुर्याउने वातावरण तयार गर्न सरकारसँग आग्रह गरे।
लगानीकर्ताले बैंक तथा वित्तीय संस्थामार्फत ब्रोकर कम्पनीलाई मार्जिन कारोबारका लागि कर्जा प्रवाह सहज बनाउन नेपाल राष्ट्र बैंकले आवश्यक व्यवस्था गर्नुपर्ने माग पनि राखे। साथै, बैंक तथा वित्तीय संस्थाले धितोपत्रमा गरेको लगानी कम्तीमा छ महिनासम्म बिक्री गर्न नपाउने व्यवस्था हटाउन र शेयर धितो कर्जाको सीमा प्राथमिक पुँजीसँग जोड्ने प्रावधान परिवर्तन गरी कुल कर्जाको पाँच प्रतिशत कायम गर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन्।
यस्तै, व्यक्तिगत शेयर कारोबारमा भएको नोक्सानीलाई कर समायोजनको दायरामा ल्याउन, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष तथा सामाजिक सुरक्षा कोषजस्ता संस्थागत लगानीकर्तालाई दोस्रो बजारमा सक्रिय रूपमा लगानी गर्न प्रोत्साहन गर्न तथा गैरआवासीय नेपाली (एनआरएन)लाई नेपाली पुँजी बजारमा लगानी गर्न सहज वातावरण बनाउन पनि प्रधानमन्त्रीसमक्ष माग राखिएको थियो।
सरोकारवालाले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई रणनीतिक साझेदारसहित पुनःसंरचना गर्नुपर्ने आवश्यकता औंल्याएका थिए। छलफलपछि उनीहरूले प्रधानमन्त्रीसँगको संवाद सकारात्मक रहेको प्रतिक्रिया दिएका छन्।
छलफलमा स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका प्रतिनिधि सन्दीप जलान, नेपाल लाइफ इन्स्योरेन्सका प्रतिनिधि नवराज सिलवाल, नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ, पुँजी बजार समितिका सभापति प्रियराज रेग्मी तथा लगानीकर्ता अम्बिकाप्रसाद पौडेल सहभागी थिए।
नियमनकारी निकायका तर्फबाट नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष गोपाल भट्टले सरोकारवालाका सुझावलाई समेट्दै बोर्डले आर्थिक वर्ष २०८३/८४ का लागि पुँजी बजार नीति तथा नेपालको पुँजी बजार मार्गचित्र–२०८३ कार्यान्वयनमा ल्याइसकेको जानकारी दिए।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अध्यक्ष अमृत लम्सालले बैंक तथा वित्तीय संस्था, बिमा तथा पुँजी बजारसँग सम्बन्धित आवश्यक कानुनको तर्जुमा तथा संशोधन प्रक्रिया अघि बढिसकेको बताए। उनले नेप्सेको पुनःसंरचनाका लागि उपयुक्त मोडालिटी तय गरिने र धितोपत्र बोर्डले जारी गरेका नीतिअनुसार प्रविधि तथा प्रणाली विकास गरी बजारलाई थप पारदर्शी, प्रभावकारी र व्यवस्थित बनाइने प्रतिबद्धता व्यक्त गरे।
