काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज मुलुकका प्रमुख निर्यातमुखी उद्योग तथा व्यवसायसँग आबद्ध प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान ११ः३० बजे हुने छलफलमा नेपाल प्लाइउड उत्पादक सङ्घका अध्यक्ष होमप्रसाद घिमिरे, नेपाल कार्पेट उत्पादक तथा निर्यातकर्ता सङ्घका अध्यक्ष बलराम गुरुङ, नेपाल पश्मिना उद्योग सङ्घका अध्यक्ष धनप्रसाद लामिछाने, कार्पेट तथा प्लाइउड निर्यातकर्ता देवानन्द सरावगी तथा नेपाल डग च्यु उत्पादक सङ्घका अध्यक्ष रेशमबहादुर पोखरेल सहभागी हुनेछन् ।
छलफलका क्रममा निर्यात प्रवर्द्धनमा देखिएका चुनौती, नीतिगत सुधारका आवश्यकता तथा समाधानका सम्भावित उपायबारे विचार–विमर्श हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
पछिल्लो समय प्रधानमन्त्री शाहले मुलुकको अर्थतन्त्रलाई थप गतिशील बनाउने उद्देश्यसहित निजी क्षेत्रका उद्योगी–व्यवसायी तथा सम्बन्धित निकायसँग निरन्तर संवादलाई प्राथमिकता दिँदै आएका छन् । सरकारले यस्ता संवादमार्फत निर्यात अभिवृद्धि, लगानीमैत्री वातावरण निर्माण तथा निजी क्षेत्रका समस्याको समाधान खोज्ने प्रयासलाई अघि बढाएको जनाएको छ ।
