काठमाडौँ, जेठ ८ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।
बिहीबार मात्रै मन्त्रिपरिषदले प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो ।
सार्वजनिक सम्पत्ति विवरणअनुसार प्रधामनन्त्रीको भरतपुर महानगरपालिका–१४ मा १४ कठ्ठा जग्गासहित घर छ । यो पैत्रिक सम्पत्ति भएको सम्पत्ति विवरणमा उल्लेख छ ।त्यस्तै भरतपुर महानगरपालिकामा श्रीमतिकै नाममा एक कठ्ठा जमिन छ । यो पनि अंशबाट प्राप्त भएको उल्लेख छ । यसैगरी, प्रधानमन्त्रीसँग ५ तोला सुन छ ।
उनको एभरेष्ट बैंकमा २५ लाख रुपैयाँ नगद मौज्दात छ। सो रकम प्रतिनिधिसभा सदस्यका हैसियतमा प्राप्त भएको उल्लेख छ । उनले विसं २०७३ ५र१९ मा बुझाएको सम्पत्ति विवरणमा एक कठ्ठामात्र जमिन उल्लेख थियो । सुन पनि तीन तोला थियो ।
यसैगरी,उनको कुनै सवारीसाधन छैन ।
यसैगरी, उपप्रधान तथा भौतिक मन्त्री रघुवीर महासेठको जनकपुर उपमहानगरपालिका र ललितपुर महानगरपालिकामा गरी दुई वटा घर छ। जनपुरका जुलीकुमारी महतोको नाममा ३ कट्ठाको घर–घडेरी रहेको छ।
उनीसँग नगद २ करोड २५ रुपैयाँ नगद मौज्दात छ।
त्यस्तै, ललितपुरमा २ रोपनी १३ आना २ पैसा १ दाममा बनेको घर छ। उनीसँग ४३ तोला सुन छ। त्यस्तै साढे एक किलो सुन छ।
उनलृ आफूसँग कुनै सवारी साधन नरहेको सम्पति विवरणमा उल्लेख गरेका छन् ।
त्यस्तै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बैंक खातामा १ लाख २२ हजार ९१८ रुपैयाँ ६४ पैसा रहेको सम्पति विवरणमा उल्लेख गरेका छन् । उक्त रकम सेवा सुविधाबाट प्राप्त भएको उल्लेख गरेका छन्।
यसैगरी, गृहमन्त्री रवि लामिक्षानको बुझाएको सम्पत्ति विवरणमा पत्नी निकिता पौडेलको नाममा बूढानीलकण्ठ ८ मा ५ आना जग्गा रहेको उल्लेख छ। उक्त जग्गा ३ करोड ७५ लाख रुपैयाँमा खरिद गरिएको हो। यो पारिश्रमिकबाट यो जग्गा किनेको उल्लेख छ।
लामिछानेको नाममा भक्तपुरमा एक रोपनी एक आना जग्गा छ। यो जग्गा पैतृक सम्पत्ति भएको उल्लेख छ। काठमाडौं महानगरपालिका-७ मा श्रमितको नाममा १० रोपनी (सगोलमा) जग्गा छ।
गृहमन्त्री लामिछानेले करिब ८० तोला सुन रहेको उल्लेख गरेका छन्। यो अधिकांश बुवाआमाबाट र केहि खरिद गरिएको हो । चाँदीका भाडाकुँडा १५ देखि २० केजीसम्म छ।
उनको दुइटा बैंकमा गरेर १ लाख १० हजार रुपैयाँ मौज्दात छ। त्यस्तै अर्थमन्त्री वर्षमान पुनसँग एनएमबी बैंकमा ३३ लाख ७० हजार ६१८ रुपैयाँ मौज्दात छ ।उक्त रकम उनले तलब भत्ता, भ्रमण भत्तासमेबाट प्राप्त गरेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
त्यसैगरी, उनको जन्मथलो रोल्पा नगरपालिका–७ माडीचौरमा ८२० वर्गमिटर पैत्रिक सम्पत्ति छ ।उनीसँग एक थान हलुका सवारीसाधन पनि छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङसँग राष्ट्रिय वाणिज्य बैंकमा ७ लाख ५० हजार रुपैयाँ मौज्दात छ ।
त्यसैगरी उनले नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ मा १२ रोपनी ८ आना ३ पैसा १ दाम जग्गा पैतृक सम्पत्ति रहेको उल्लेख गरेका छन् ।उनीसँग ६ तोला सुन छ ।
