नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई एटीएममार्फत १०० रुपैयाँ दरका नोट पनि उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएको छ। यसअघि एटीएमबाट १ हजार र ५०० रुपैयाँ दरका नोट मात्र निकाल्न सकिने व्यवस्था थियो। मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघलाई पत्र पठाउँदै चाडपर्व नजिकिँदै गर्दा साना दरका नोटको माग बढ्ने भएकाले ग्राहकलाई सहज सुविधा दिन एटीएमबाटै १०० रुपैयाँ निकाल्न सक्ने व्यवस्था गर्न आग्रह गरेको हो।
पत्रमा उल्लेख भएअनुसार, बेला–बेलामा ग्राहकले एटीएममार्फत साना दरका नोट माग गर्ने गरेको र चाडपर्वमा बैंकमा हुने भीड व्यवस्थापनका लागि यो सुविधा आवश्यक ठहरिएको छ। राष्ट्र बैंकले केही बैंकसँग मौखिक जानकारी लिँदा प्राविधिक रूपमा एटीएमबाट १०० रुपैयाँका नोट वितरण गर्न सकिने व्यवस्था सम्भव रहेको पुष्टि भएको छ। मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक अनुज दाहालले हस्ताक्षर गरेको उक्त पत्रको बोधार्थ नेपाल बैंकर्स संघसँगै डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल र नेपाल वित्तीय संस्था संघलाई पनि दिइएको छ।

