काठमाडौँ, जेठ १२ । गर्मीको समयमा बुढाबुढी हुन या केटाकेटी खरबुजा मन नपराउने सायदै कोही होलान् । यो समयमा गर्मी भगाउने एक टुक्रा मात्रै भएपनि रसिलो खरबुजा कसलाई पो मन नपर्ला त ? के तपाईलाई विश्वकै सबैभन्दा महँगो र दूर्लभ खरबुजाबारे थाहा छ ?
जापानको युबारी प्रजातिको खरबुजा विश्वको सबैभन्दा महँगो खरबुजामध्येको एक हो । यो जापानको उत्तरी प्रिफेक्चर होक्काइदोमा मात्रै पाइन्छ । हामीले यस्ता प्रकारका खरबुजा नेपालमा जस्तै गरी किन्न भने सक्दैनौं ।
जापानस्थित होक्काइदो सहरको युबारीमा फलेको एक जोडी युबारी खरबुजा शुक्रबार लिलामीमा ३० लाख येन*( १९ हजार ११२ डलरभन्दा बढी) मा बिक्री भएको छ । यस्ता प्रकारका खुरबुजा निकै गुलियो हुन्छ भने बिया पनि निकै कम हुन्छ ।
जापानमा यो फललाई प्रतिष्ठाको प्रतीक पनि मानिन्छ ।यसलाई विशेषगरी गर्मीयाममा उपहारको रुपमा कसैलाई दिन प्रयोग गर्ने गरिन्छ ।
त्यहाँ सुन्तला, खरबुजा, हलुवाबेद, स्ट्रबेरी, आरु लगायत फलफूलहरु उपहार दिने लक्जरी वस्तु हुन् । जापानमा यस्ता महँगा फलफूल खरिद गर्नु हामीले गरगहना किने जस्तै हो । उनीहरुले पाहुनबाट धन्यवाद पाउन पनि यस्ता फलफूल उपहारमा दिने गर्दछन् ।
होक्काइदो कर्पोरेसनका अनुसार सापोरो सिटी सेन्ट्रल होलसेल मार्केटमा बिहान ७ बजेदेखि लिलामी शुरु गरिएको थियो ।उक्त खरबुजा होकुयुप्याक कम्पनीले किनेको हो । उक्त कम्पनीले युबरीमा खरबुजा प्याकेजिङ र बिक्री गर्दछ ।
होकुयुप्याक कम्पनीका अध्यक्ष कियोमिची नोचाका अनुसार पहिलो २०० जना ग्राहकलाई आगामी जुन १ र २ मा कम्पनीको कार्यालयमा युबरी खरबुजा निःशुल्क वितरण गरिनेछ ।युबरी नगर कृषि सहकारी संस्थाका अनुसार यस वर्ष ८९ जना खरबुजा उत्पादकले कुल ३ हजार २१९ टन खरबुजा निर्यात गर्ने अनुमान छ ।
सन् २०१९ मा भएको लिलामीमा एक जोडी युबरी खरबुजा अहिलेसम्मकै सर्वाधिक ५० लाख येनमा बिक्री भएको थियो ।त्यहाँ खासगरी रेष्टुरा र डिपार्टमेन्ट स्टोरहरु आफ्नो बजार प्रवर्द्धन गर्न ठूलो मूल्य तिरेर यस्ता लिलामीमा सहभागी हुने गर्दछन् ।
