Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

बबई सिँचाइ आयोजना : मुआब्जा वितरणको सुरुवात, कसरी गरिएको छ जमिनको वर्गीकरण ?

बबई सिँचाइ आयोजना : मुआब्जा वितरणको सुरुवात, कसरी गरिएको छ जमिनको वर्गीकरण ?

अर्थ प्लस
बबई सिँचाइ आयोजना : मुआब्जा वितरणको सुरुवात, कसरी गरिएको छ जमिनको वर्गीकरण ?

मुआब्जाका लागि आवश्यक कूल २८ करोडमध्ये यस वर्ष तीन करोड वितरण गर्ने र अपुग रकम अर्को वर्ष भुक्तानी गर्ने आयोजनाको तयारी

काठमाडौँ, जेठ  १२  । नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना बबई सिँचाइले पश्चिमी मूल नहर प्रणालीअन्तर्गत गुलरिया खण्डलगायत आसपासका सोनापुर, नारायणटोल, सुहेलवा शाखा नहर निर्माण तथा विस्तारका लागि आवश्यकपर्ने जग्गाको मुआब्जा रकम वितरणको सुरुआत गरेको छ । 

आवश्यक जग्गा अधिग्रहणका लागि गत वर्ष सूचना जारी गरेको आयोजनाले मुआब्जा वितरणका लागि किसानका आवेदन सङ्कलन गर्दैछ । जग्गा प्राप्ति ऐन २०३४ को दफा १३ (२) बमोजिमको मुआब्जा निर्धारण समितिको बैठकले कायम गरेको मुआब्जा दरअनुसार रकम उपलब्ध गराइने बबई सिँचाइ आयोजनाका निर्देशक सुशीलचन्द्र देवकोटाले बताए । 

“मुआब्जाका लागि जग्गाधनी प्रमाणपत्र तथा नेपाली नागरिकताको प्रमाणपत्र, चालु आर्थिक वर्षको मालपोत तिरेको रसिद लिइ जग्गाधनी स्वयं वा अदालतबाट प्रमाणित अधिकृत वारेशनामा पत्रसहित आउनुपर्छ, हामीले सूचना जारी गरिसकेका छौँ”, उनले भने, “जग्गा धनी वा वारेश लिएको व्यक्ति उपस्थित भई आयोजनाका नाममा जग्गा दाखिला गरेपछि मुआब्जा रकम उपलब्ध हुन्छ, जग्गामा भएका बोट बिरुवा तथा घरगोठ टहरालगायतका संरचनाको क्षतिपूर्ति नहर निर्माणको काम हुँदाका बखत तत्काल नापजाँच एवं सर्जमिन मुचुल्का गराइ यकीन भएपछि मात्र उपलब्ध गराउँछौँ ।”

गुलरिया नगरपालिका–१, २ र ३ को लागि वडा नं १ को वडा कार्यालयमा आयोजनाका कर्मचारीबाट सहायता कक्ष राखी सेवा सञ्चालन गरिएको छ । मुआब्जाका लागि सडकसँग जोडिएको र खेतीयोग्य जमिन वर्गीकरण गरी रकम मूल्याङ्कन गरिएको उनको भनाइ छ ।

मुआब्जाका लागि आवश्यक कूल रु २८ करोडमध्ये यस वर्ष रु तीन करोड वितरण गर्ने र अपुग रकम अर्को वर्ष भुक्तानी गर्ने आयोजनाको तयारी छ । अघिल्लो वर्ष निर्णय भएकाहरुले यस वर्ष भुक्तानी पाउनेछन् । आवेदन दिइ मुआब्जा लिन निर्देशक देवकोटाको आग्रह छ । 

मुआब्जा वितरणका लागि आयोजनाले वडामा निवेदन सङ्कलन गरिरहेको गुलरिया–१ का वडाध्यक्ष जोगीराम थारुले जानकारी दिए । 

किसानहरुले जग्गा जमिनको मुआब्जा पाउने भएपछि वडामा आवेदन दिनेको भीड छ । मुआब्जा रकम अलि कम भएको किसानको गुनासो सुनाउँदै अध्यक्ष थारुले भने, “खेतबारीमै सिँचाइ आउने भएपछि किसान खुसी छन् ।”

 

सम्बन्धित समाचार