Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
सेयर बजार

बुक बिल्डिङ विधि अनुसार शेयर आवेदन गर्दै यति ब्रुअरी, प्रिमियम आईपीओ भन्दा व्यवस्थित तरिकाले आईपीओ मूल्य निर्धारण हुने

बुक बिल्डिङ विधि अनुसार शेयर आवेदन गर्दै यति ब्रुअरी, प्रिमियम आईपीओ भन्दा व्यवस्थित तरिकाले आईपीओ मूल्य निर्धारण हुने

बुक बिल्डिङ विधि अनुसार शेयर आवेदन गर्दै यति ब्रुअरी, प्रिमियम आईपीओ भन्दा व्यवस्थित तरिकाले आईपीओ मूल्य निर्धारण हुने

काठमाडौ, ४ माघ । बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गर्न कम्पनीहरु विस्तारै अभ्यस्त हुन थालेका छन्। अंकित मूल्यमा मात्रै नियामक धितोपत्र बोर्डले आईपीओ निष्काशन स्वीकृति दिन थालेकोमा केही वर्ष अगाडिबाट अंकित मूल्यमा केही प्रिमियम थपेर आईपीओ निष्काशन गर्ने प्रणालीको शुरुवात भयो।

निजी क्षेत्रले अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचलित बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गर्न माग भए बमोजिम धितोपत्र बोर्डले निर्देशिका बनाई लागू गर्यो। बोर्डले बुक बिल्डिङ निर्देशिका २०७७ जारी गरी सोही अनुसार सर्वोत्तम सिमेन्टले बोर्डमा निवेदन दियो। सर्वोत्तम सिमेन्टले सो कार्यविधि अनुसार स्वीकृति नपाउँदै तत्कालीन धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले गोल्डेन शेयर हात पारेको विषय सार्वजनिक भएपछि उनी बोर्ड अध्यक्षबाट निलम्बित भए। सोही काण्डमा नेप्सेका पूर्व महाप्रबन्धक चन्द्र सिंह साउद पनि मुछिए। थोरै समय मात्र कार्यकाल बाँकी भएका साउदले तत्काल राजीनामा दिए। सेबोन र नेप्सेका हाकिम नै बुक बिल्डिङ विधि अनुसार शेयर निष्काशन काण्डमा मुछिएपछि निजी क्षेत्रका कम्पनीले सो विधि अनुसार शेयर निष्काशन गर्ने जाँगर नै देखाएनन। बरु त्यसको सट्टा प्रिमियम मूल्यमा शेयर निष्काशन गर्न राजी भए।

तत्कालीन बोर्ड अध्यक्ष ढुंगानालाई निलम्बन गरेपछि बाँकी अवधिको लागि नियुक्त भएका रमेश हमालले पनि प्रिमियम मूल्यमा शेयर निष्काशन गर्ने अनुमति माग्न आएका कम्पनीलाई भटाभट निष्काशन अनुमति दिए। फलस्वरुप गत आर्थिक वर्ष ४४ वटा कम्पनीले आईपीओ निष्काशन गरेकोमा ७ वटा कम्पनीले प्रिमियम मूल्यमा र ३७ वटा कम्पनीले अंकित मूल्यमा आईपीओ निष्काशन गरे। यसअघि यति धेरै कम्पनीले प्रिमियम मूल्यमा शेयर निष्काशन गरेका थिएनन।

धेरै कम्पनीहरुले प्रिमियममा शेयर निष्काशन गरेपछि संसदको सार्वजनिक लेखा समितिले धितोपत्र बोर्ड, नेपाल बिमा प्राधिकरणलगायतलाई प्रिमियममा मूल्यमा शेयर निष्काशन नगर्न निर्देशन दिँदै प्रिमियम रकम समेत फिर्ता गर्ने आदेश दिएको छ। गत वर्ष १ वटा सिमेन्ट कम्पनी, दुई वटा हाइड्रोपावर कम्पनी र ४ वटा लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा शेयर निष्काशन गरेका थिए। लेखा समितिको निर्देशनपछि बिमा प्राधिकरणले प्रिमियमबापत् संकलित रकमलाई बोनस शेयर लगायतमा खर्च नगरिकन छुट्टै कोष बनाएर राख्न निर्देशन दिएको छ। लेखा समितिको निर्देशनमा प्रिमियमको आईपीओ भन्दा पनि अन्तर्राष्ट्रियस्तरमा लागु गरिएको बुक बिल्डिङ विधिलाई नै अवलम्बन गर्न समेत निर्देशन दिइएको थियो।

नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियारले बुक बिल्डिङ विधिअनुसार शेयर निष्काशन गर्नु राम्रो हुने बताउँछन्। उनले भने –‘धेरै योग्य संस्थागत लगानीकर्ताले टेस्ट गरेपछि मात्रै आईपीओ मूल्य निर्धारण हुने हुँदा यो नै वैज्ञानिक र अन्तर्राष्ट्रिय रुपमा प्रचलित प्रणाली हो। प्रिमियम गणनामा धेरै विवाद पनि यो प्रणालीमा गएपछि समाधान हुन्छ।’

अन्तर्राष्ट्रिय शेयर बजारका ज्ञाता समेत रहेका विश्लेषक मुक्ति अर्याल पनि प्रिमियम विधि भन्दा परिस्कृत विधिको रुपमा बुक बिल्डिङ विधिलाई लिनुपर्ने बताउँछन्। सर्वसाधारणको हकमा भन्दा बुक बिल्डिङ विधि केही महंगो पर्न जाने उनले बताए। पहिलो बुक बिल्डिङ विधि अनुसार निष्काशन भएको सर्वाेत्तम सिमेन्टको शेयर खरिद गर्न सर्वसाधारण आवेदकले प्रति कित्ता ३ सय ६० रुपैयाँ ९० पैसा खर्च गर्नुपर्नेछ भने रिलायन्स स्पिनिङको शेयर आवेदन गर्दा अझ बढी खर्च गर्नुपर्नेछ। यो विधि अनुसार न्यूनतम ५० कित्ता शेयर आवेदन दिनुपर्छ। बुक बिल्डिङ विधि शेयर निष्काशन गर्ने कम्पनीको पक्षमा रहेको जस्तो देखिए पनि आईपीओ राइट प्राइस निकाल्न भने यो विधि उत्तम देखिएको फोरमका अध्यक्ष रौनियारले बताए।

चालु वर्ष पनि आधा वर्ष सकिंदा सम्म २ वटा कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गरिसकेका छन् भने २ वटा कम्पनीलाई बुक बिल्डिङ बिधि अनुसार र ३ वटा कम्पनीले अंकित मूल्यमा शेयर निष्काशन गर्ने अनुमति पाएका छन्। सेबोनका निवर्तमान अध्यक्ष हमालको जोडबलमै सर्वोत्तमले बुक बिल्डिङ विधि अनुसार शेयर निष्काशन गर्न अनुमति पायाे। कार्यकाल सकिन केही दिन मात्रै बाँकी हुँदा हमालले नै बुक बिल्डिङ विधि अनुसार नै आवेदन दिने दोस्रो कम्पनीलाई पनि अनुमति दिएको हो। रिलायन्स स्पिनिङले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्ताको लागि शेयर निष्काशन गरेको छ।

अहिलेसम्म सर्वोत्तम सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधि अनुसार आईपीओ निष्काशन गर्ने अनु्मति पाएका छन्। बुक बिल्डिङ विधि अनुसार आईपीओ निष्काशन गर्दा सर्वप्रथम योग्य संस्थागत लगानीकर्ताहरुलाई एउटा रेञ्जभित्र रहेर शेयर आवेदन गर्न लगाइन्छ। सर्वोत्तम सिमेन्टले योग्य संस्थागत लगानीकर्ताको लागि शेयर निष्काशन गरिसकेको छ। सेबोनले सर्वोत्तमलाई ४ सय २ देखि ६ सय २ को रेञ्जभित्र रहेर शेयर आवेदन दिन अनुमति दिएकोमा अधिकांश आवेदकले ४ सय २ रुपैयाँमै शेयर आवेदन गरेको थियो। बुक बिल्डिङ निर्देशिका अनुसार योग्य संस्थागत लगानीकर्ताले पाएको कट अफ प्राइसको १० प्रतिशत कम मूल्यमा सर्वसाधारण लगानीकर्ताले पाउने प्रावधान छ। सोही अनुसार अहिले सर्वोत्तम सिमेन्ट ३ सय ६० रुपैयाँ ९० पैसामा सर्वसाधारणको लागि आईपीओ निष्काशन गरिंदै आएको छ। स्थानीय स्रोत प्रयोग गर्ने कम्पनीको हकमा स्थानीय बासिन्दालाई समेत शेयर छुटयाउनुपर्ने र वैदेशिक रोजगारमा गएका कामदारलाई समेत शेयर निष्काशन गर्नुपर्ने प्रावधान अनुसार अहिले ती दुवै क्षेत्रका लगानीकर्तालाई शेयर निष्काशन खुला छ। दुवै क्षेत्रको निष्काशन सकेपछि बाँकी रहेको कित्ता जोडेर सर्वसाधारणलाई शेयर निष्काशन गरिन्छ। बुक बिल्डिङ विधि अनुसार शेयर निष्काशन हुँदा न्यूनतम ५० कित्ता शेयर आवेदन गर्नुपर्छ।

बुक बिल्डिङ अनुसार दुई वटा कम्पनीले मात्रै निष्काशन अनुमति पाएकोमा हालै मात्रै तेस्रो कम्पनी यति ब्रुअरीले बुक बिल्डिङ विधिबाटै शेयर निष्काशन गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरेको छ। यतिले आईपीओ निष्काशनको लागि एनआईएमबी एस क्यापिटल लिमिटेलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक समेत नियुक्त गरिसकेको छ। उक्त शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा यति ब्रुअरी लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक संजीव सर्राफ र एनआइएमबि एस क्यापिटल लिमिटेडका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन्। यति ब्रुअरी लिमिटेडले हाल अर्ना, यति, वाईबी, शिखर लगायत बियर किंगफिसरजस्ता चर्चित ब्राण्डका बियर बोतल तथा क्यानमा उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ। 

सम्बन्धित समाचार