काठमाडौँ, जेठ ३२ । कांग्रेस आईका नेता राहुल गान्धी कुशल राजनीतिज्ञ नभई सक्रिय शेयर कारोबारी पनि रहेको खबर सुन्न पाउँदा तपाईलाई आश्चर्य लाग्ला ।
सामान्यतया शेयरबजारमा लगानी गर्न सबैलाई छूट छ । उनी पनि यसकै आधारमा बजारमा सक्रिय छन् ।उनले भारतको दोस्रो बजारमा सूचीकृत टीसीएस तथा टाइटन कम्पनीसहित पाँच वटा कम्पनीमा लगानी गरेको खुलासा भएको छ।यो खुलासा हालैमात्र भएको हो ।
यतिमात्र नभइ उनको लगानी बजाज फाइनान्स,पेडिलाइट,सुपरजित इञ्जिनियरिङ कम्पनीमा पनि छ । उनको कुल लगानी ४२ लाख भारुभन्दा बढी छ ।
उनले हालै भएको लोकसभा चुनावमा क्रममा सहकर्मीसँग कुराकानी गर्ने क्रममा आफू पनि सक्रिय शेयर कारोबारी भएको बताएका थिए । उनी केरलाको वायनाड र उत्तर प्रदेशको रायबरेलीबाट निर्वाचित भएका छन् । दुवै सिटबाट विजयी भएका कांग्रेस नेता राहुल गान्धीले अबको केहि दिन पछि एक सिट छोड्नु पर्ने भएको छ।
उनी आफ्ना सहकर्मी राजनीतिज्ञ र सर्वसाधारणलाई अन्दाज र हल्लाको भरमा शेयर कारोबार गर्न नहुने सल्लाह दिन्छन् । उनी शेयर कारोबारीलाई विनाअध्ययन र हौसिएर कारोबार गर्नै छूट नभएको पनि बताउँछन् । उनले केहि दिनअघि मात्र शेयर बजार घोटालामा नरेन्द्र दामोदर दास मोदी सरकारकै भूमिका रहेको दाबी गरेका थिए ।
उनले निर्वाचन परिणामको पूर्वसन्ध्यामा शेयर बजार बढ्ने हल्ला फैलाउँदा लगानीकर्ताको ३० करोड भारु नोक्सानी भएको बताएका थिए । यो इतिहासकै ठूलो बजार घोटाला भएकोले छानविन गर्न पनि उनले माग गरेका छन्।
