काठमाडौं, असार ४ । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्ट कर्पोरेशन घरेलु बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पल इंकलाई उछिनेर सबैभन्दा मूल्यवान कम्पनी बनेको छ ।
कम्पनीज मार्केट क्याप डटकमका अनुसार बजार मूल्य अनुसार माइक्रोसफ्ट एप्पललाई पछि पार्दै विश्वको सबैभन्दा मूल्यवान कम्पनी बनेको हो ।
बजार बन्द हुने बेलामा माइक्रोसफ्ट कम्पनीको कुल बजार पूँजीकरण ३.३३ ट्रिलियन डलर पुगेको छ भने एप्पलको ३.३२ ट्रिलियन डलर छ ।तेस्रो स्थानमा भने अमेरिकी चिप मेकर कम्पनी एनवीडिया कर्प छ। एनवीडियाको पनि एप्पल सरह कुल बजार पूँजीकरण ३.२२ ट्रिलियन डलर छ।
आपूर्ति श्रृङखलाको अवरोधका कारण बजार खस्किएपछि शेयर मूल्यमा आएको गिरावटका कारण एप्पल दोस्रो स्थानमा झरेको हो । साथै अफिस, विन्डोज तथा क्लाउड प्रडक्ट कारण माइक्रोसफ्टको आम्दानी उल्लेख्य रुपमा बढ्नुले पनि माइक्रोसप्टलाई विश्वको मूल्यवान कम्पनी बनाउन सहयोग गरेको बताइएको छ ।
मंगलबार माइक्रोसफ्ट कम्पनीको शेयर मूल्यमा १.३१ प्रतिशतले वृद्धि भएर ४४८.३७ डलर पुगेको थियो भने एप्प्ल कम्पनीको शेयर मूल्य १.९७ प्रतिशतले बढेर २१६.६७ डलर पुगेको थियो ।एनवीडियाको शेयर मूल्य ०.६८ प्रतिशतले घटेर १३०.९८ डलर पुगेको थियो ।
विश्वको सबैभन्दा मूल्यवान कम्पनीको रुपमा माइक्रोसफ्टले एप्पललाई पछि पारेको यो पहिलोपटक भने होइन । यसअघि सन् २०१८ र सन् २०२० को जुलाइमा पनि माइक्रोसफ्ट पहिलो स्थानमा उक्लिएको थियो । त्यस्तै गुगलको मातृ कम्पनी अल्फाबेटले पनि सन् २०१६ मा एप्पललाई पछि पार्दै विश्वको सबैभन्दा मूल्यवान कम्पनीको भएको थियो ।
कतिपय समयमा दोस्रो स्थानमा झर्नु परेपनि लामो समयदेखि एप्पल भने विश्व बजारमा अग्रणी स्थानमा रहँदै आएको छ। सन् २०१८ मा एप्पल १० खर्ब बजार मूल्य भएको पहिलो अमेरिकी कम्पनी बनेको थियो । त्यसको दुई वर्षपछि नै एप्पलले २० खर्ब बजार मूल्यको कोशेढुंगा पार गर्दै अर्को कीर्तिमान कायम गरेको थियो ।
