काठमाडौं, असार ११ । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले निजी क्षेत्रलाई सहयोग गर्ने गरी वित्त नीति आएको र यसलाई समर्थन गर्ने गरी मौद्रिक नीति आउने बताएका छन् ।
मंगलबार काठमाडौंमा पूर्व मौद्रिक नीति बारे आयोजित कार्यक्रममा उनले भने, अहिले नेपाल राष्ट्र बैंक र हाम्रो सम्बन्ध पनि राम्रो छ । हामी सँगसँगै छौं, छलफलमै छौं ।’
उनले मुलुकको आर्थिक गतिविधिमा सुधार गर्नुपर्ने आवश्यकता भएकाले मौद्रिक नीति यस्ता विषयमा ध्यान दिएर आउने बताए।साथै उनले आगामी आर्थिक वर्ष २०८१/८२ बजेट नीतिगत स्थिरतामा केन्द्रित रहेर आएको बताए । साथै उनले बजेटको आकार समेत यथार्थपरक बनाउने प्रयास गरिएको बताए ।
उनले भने, ‘चालू खर्च घर्टाएका छौं, पूँजीगत खर्च बढाएका छौं, पूर्वाधार निर्माणमा सिर्जित दायित्व र बहुवर्षीय आयोजनामा केन्द्रित गरेका छौ,बजेट कार्यान्वयन योग्य बनाएका छौं । यसले ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सकिन्छ । बजेटमा हामीले ठूलो कुरा गरेका छैनौं ।’
कर सम्बन्धी उच्चस्तरिय आयोगका सुझाव क्रमशः कार्यान्वयन गर्दै जाने पनि उनले प्रतिबद्धता जनाए ।
