काठमाडौं, असार १४ । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा बाबुराम भट्टराईले बूढीगण्डकी जलविद्युत आयोजनाको काम अघि बढाउन माग गर्दै शुक्रबार सरकारलाई मागपत्र बुझाएका छन् ।
सरकारले जलाशययुक्त आयोजनाको रुपमा निर्माण गर्न खोजेकोमा उनले बहुउद्देश्यीय आयोजनाको रुपमा सन्चालन गर्न पनि ध्यानाकर्षण गराएका छन् ।
भट्टराईले बुझाएको तीन बुँदे मागको पहिलो नम्बरमा अहिलेको विद्युत प्राधिकरण अन्तर्गतको सहायक कम्पनीको रूपमा रहेको कमजोर संरचनालाई खारेज गरी अधिकार र साधनस्रोत सम्पन्न ‘बूढीगण्डकी कोरिडोर विकास प्राधिकरण’ तुरुन्त गठन गर्नुपर्ने उल्लेख छ ।
अधिकार सम्पन्न प्राधिकरणमार्फत् समग्र बूढीगण्डकी कोरिडोर विकासका कामहरू अघि बढाउनुपर्ने र आयोजना प्रभावित नागरिकहरूका जायज मागहरूलाई सम्बोधन गर्नुपर्ने माग पनि उल्लेख छ ।प्रधानमन्त्री प्रचण्डलाई माग पत्र बुझाउन डा भट्टराई पार्टीका नेता र गोरखाका सांसदहरुसहित सिंहदरबार पुगेका थिए ।
‘भदौसम्म पनि यसलाई सरकारले गम्भिरतापूर्वक नलिएमा असोज १ देखि आन्दोलनकै रुपमा जाने चेतावनी दिएका छौं,’ टोलिमा सहभागी मानुषी भट्टराईले बताइन् ।
लामो समयदेखि चर्चामा रहेको मुलुककै सबैभन्दा ठूलो अर्थात् १ हजार २०० मेवावाट क्षमताको जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजनाको काम अन्यौलका बीच धिमा गतिमा काम भइरहेको छ ।लागत चाहिं २ खर्ब ५९ अर्ब रुपैयाँ लाग्ने भनिएको छ।
