काठमाडौं, माघ ५ । सरकारले नेपालमा आयात हुने सवारीसाधनका लागि प्रदुषण मापदण्ड यूरो थ्रिबाट युरो सिक्समा स्तरोन्नति गर्न अर्थमन्त्रालयले स्वीकृति दिएको छ । अर्थमन्त्रालयकाे बिहीबार सचिव र सहसचिव तहको निर्णयबाट नेपालमा आयात हुने सवारीका लागि प्रदुषण मापदण्ड बढाउने निर्णय भएकाे हो ।
२०६९ सालमा सरकारले युरो थ्री मापदण्ड भएका सवारीसाधन मात्र आयात गर्न पाउने व्यवस्था थियो । तर, ११ बर्षसम्म सवारी मापदण्ड स्तरोन्नति हुन सकेको थिएन । वातावरण मन्त्रालयले लामो समयदेखि यूरो सिक्स लागू गर्न कसरत गरेपछि व्यवसायीहरुको दबाबले अर्थमन्त्रालयले फाइल रोकेर राखेको थियो । ११ वर्षपछि बल्ल युरो सिक्समा जाने निष्कर्षमा अर्थमन्त्रालय पुगेको हो ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले सवारी प्रदुषण मापदण्ड युरो सिक्समा जाने निर्णय भएको जानकारी दिए । ‘हामीले केहि समयदेखि यूरो सिक्सको फाइदा बेफाइदा बारे अध्ययन गरिरहेका थियौं । सबैको सल्लाह बमोजिम यूरो सिक्समा जाने निर्णय भएको छ।’
अब सवारी आयातको प्रदुषण मापदण्ड युरो सिक्समा जानुपर्ने वातावरण मन्त्रालयलाई मापदण्ड स्तरोन्नतिको बाटो खुलेको छ । अर्थ मन्त्रालयले स्वीकृति दिएसँगै प्रदुषण मापदण्ड स्तरोन्नतिको प्रस्ताव मन्त्रिपरिषदमा पेश हुनेछ।
मन्त्रिपरिषदले त्यसबारे अध्ययन गरेर लागु पर्ने निर्णय गरेपछि प्रदुषणको नयाँ मापदण्ड कार्यान्वनमा आउने छ। यसका लागि अटोमोबाइल व्यवसायीहरुलाई भने सरकारले केहि समय दिने तयारी गरेको छ ।
यस अघि वातावरण मन्त्रालयले पटक प्रदुषण मापदण्ड स्तरोन्नति गर्ने भन्दै कार्यदल बनाएर र प्रतिवेदन तयार पारेको थियो । तर, सो प्रतिबेदन दराजमै थन्किएको थियो । लामो समयदेखि प्रदुषण मापदण्ड स्तरोन्नति नभएकाले सरकार युरो सिक्स वा सो सरहको मापदण्ड लागू गर्ने तयारीमा थियो भने व्यवसायीहरू युरो थ्रीबाट युरो फोर लागू गरेर केही समयपछि युरो सिक्समा जानुपर्ने पक्षमा थिए।
वातावरण विभागले ‘नेपाल प्रदुषण मापदण्ड २०७८’ तयार पारेर वातावरण मन्त्रालयमा पेस गरेको थियो। व्यवसायीहरूबीच तथा सरकारी निकायबीच पनि युरो फोरमा जाने वा सिधै युरो सिक्समा जाने अलमलमै थियो ।
