काठमाडौँ, असार १९ । भारतीय शेयर बजार अहिलेसम्मकै कीर्तिमानी उचाईमा पुगेको छ ।
यो दिन बम्बई स्टक एक्सचेन्ज (बीएसई) सेन्सेक्सले अल टाइम हाइ बनाएको छ भने नेशनल स्टक एक्सचेन्जको निफ्टी (एनएसई निफ्टी) पनि कीर्तिमानी उचाई छोएको छ।त्यहाँको धितोपत्र बजारमा विगत एक सातायता बजार र कारोबार रकम दिनप्रतिदिन बढ्दै गएको छ । साताको तेस्रो कारोबार दिन बुधबार पनि त्यहाँको शेयर बजारले कीर्तिमानी उचाई छोएको छ ।
यो दिन शेयर बजार सूचक सेन्सेक्स ८० हजार विन्दुभन्दा माथि पुगेको छ। यस दिन कारोबार अवधिमा सेन्सेक्स ८० हजार ७४ विन्दुसम्म पुगेको छ। निफ्टी पनि २४ हजार ३०७ विन्दुमाथि पुगेको छ ।
यो दिन सेन्सेक्स ५७२ अंक बढेर ८० हजार १३ विन्दुमा खुलेको थियो भने निफ्टी चाहिं १६८अंक बढेर २४ हजार २९१ विन्दुमा खुलेको थियो ।बैंक निफ्टी भने ७०४ अंक बढेर ५२ हजार ८७२ विन्दुमा खुलेको थियो ।
निर्वाचन पछि नयाँ सरकार बने यता त्यहाँको शेयर बजारले नयाँ रेकर्ड बनाउँदै लगेको देखिन्छ।यो दिन बैंकिङ तथा अटो प्रविधि क्षेत्रका कम्पनीको शेयरमूल्य बढेका छन् ।
बीएससी अन्तरगत ३० वटा कम्पनीको शेयरमूल्य पनि उल्लेख्य रुपमा बढेका छन् । यो दिन निफ्टी अन्तरगत एचडीएफसी बैंक,कोटक महिंद्रा बैंक, एचडीएफसी लाइफ, ब्रिटानिया इन्डस्ट्रीज तथा टाटा कञ्जुमरको शेयरमूल्य उल्लेख्य रुपमा बढेका छन् ।
